• ९ पुस २०८१, मङ्गलबार

बाँझो जमिनमा सुन्तला खेती

blog

दोलखा समाचारदाता

दोलखा, मङ्सिर २३ गते । दोलखाको शैलुङ गाउँपालिका–७, साउँतेका किसानले बाँझो रहेको बारीमा सुन्तला खेती गर्न थालेका छन् । अन्न बालीले खासै फाइदा हुन छाडेपछि किसान यसप्रति आकर्षित हुन थालेका ८० वर्षीय रत्नबहादुर बुढाथोकीले बताउनुभयो । उमेरले ८० पुगे पनि उहाँको जोसजाँगर र सक्रीयता हेर्दा कुनै वयस्कभन्दा कम छैन । ज्यानमा रोग पनि छैन । बुढाथोकीको दैनिकी सुन्तला बगैँचा जाने, गोडमेल गर्ने, सिजन अनुसार मल, सिँचाइ, काँटछाँट गर्ने रहेको छ ।

१५ वर्षको उमेरदेखि सुन्तला खेती गर्दै आउनुभएका बुढाथोकी गाउँका नमुना किसान हुनुहुन्छ । गाउँमा पहिलो पटक २०५२ तिर सुन्तला रोपेर सुरुवात गर्नुभएका उहाँले २०६० मा एकै पटक पाँच रोपनी जग्गामा सुन्तला मात्रै रोप्नुभयो । ती सुन्तला तामाकोशी र चरीकोट बजारमा बिक्री हुन्थे । त्यसैले पनि उहाँले २०७४ सालमा कृषि विकास कार्यालय दोलखाबाट राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गर्नुभएपछि उहाँको सव्रिmयता झन् बढेको हो ।

उहाँका एक छोरा काठमाडौँमा खाइरहेको जागिर छोडेर अहिले गाउँमै फर्केर सुन्तला खेती विस्तारमा लाग्नुभएको छ । बुबाले पाँच रोपनीमा लगाएको सुन्तलाबाट हौसला मिलेपछि रत्नबहादुरका छोरा पुरुषोत्तम बुढाथोकीले अहिले खेती विस्तार गरी २० रोपनीमा पु-याउनुभएको छ ।

सुन्तलाभित्र घुसुवा बालीका रूपमा अदुवा, भटमास लगाइएको छ । घुसुवा बालीले सुन्तलालाई गोडमेल पनि पुग्ने र मल पनि भएकाले उहाँले यसको प्रयोग गर्नुभएको हो । बुवाबाट प्रेरित भएर उहाँले अहिले वार्षिक सुन्तला र अदुवा २० लाख रुपियाँभन्दा बढीको बिक्री गर्न थाल्नुभएको छ । मकै र कोदो गरी मुस्किलले छ हजार रुपियाँ आम्दानी हुन्थ्यो । खरिदका लागि व्यापारी बारीमै आउँछन् । परम्परागत बालीबाट धेरै फाइदा नहुने भएपछि धेरै किसान विस्थापित भएका हुन् । बुढाथोकीले अहिले परम्परागत कोदो, मकै रोप्न छाडेर भएको जग्गामा सुन्तला रोप्न थाल्नुभएको छ ।

आफूसँग जग्गा नपुगेर बाँझो रहेको थप जग्गा भाडामा लिएर खेती विस्तार गर्ने तयारी भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “वर्षौंदेखि खेती गर्न छाडेर जङ्गलमा परिणत भएको छिमेकीको जग्गा भाडामा लिएर सुन्तला र कागती खेती विस्तार गर्ने र कम्तीमा ५० रोपनीमा आफ्नो खेती पु-याउने लक्ष्य रहेको छ । उहाँ अहिले गाउँकै नमुना किसान भएको छ । गाउँमा उहाँ जस्तै सुन्तला खेती गर्नेहरू ६० भन्दा बढी पुगेका छन् । 

“खेती गर्न छाडेर गाउँ उजाड जस्तै भयो, सबै सहर र विदेश भनेर मात्रै हुन्न,” उहाँले भन्नुभयो, “गर्दा हाम्रै माटोमै सुन फल्ने देखेर आफू गाउँ फर्केर सुन्तला खेतीमा लागेको हुँ ।” सुन्तला खेतीका लागि सुक्खा सिजनमा सिँचाइ पनि आवश्यक पर्छ । त्यसका लागि उहाँले थोपा सिँचाइका रूपमा प्लास्टिक पोखरी बनाउनुभएको छ । वडा नम्बर ७ सुन्तला पकेट क्षेत्रका रूपमा गाउँपालिकाले पनि लिएको छ ।

किसान बढ्दै गएपछि गाउँपालिका र कृषि विकास कार्यालय रामेछापबाट पनि सुन्तला खेती विस्तारका लागि बिरुवा र तालिमको सहयोग गर्दै आएको छ । फस्कुबाट मात्रै वार्षिक एक करोड रुपियाँ बढीको सुन्तला व्यापारीले तामाकोशी बजार हुँदै जिरी, चरीकोट, मन्थली, खुर्कोट र काठमाडौँसम्म पु-याउँछन् । कृषि विकास कार्यालय रामेछापका चरीकोट एकाइ प्रमुख नन्दराज ओलीले भन्नुभयो, “फस्कुमा सुन्तला खेती विस्तार भइरहेको छ । कृषि कार्यालयले गुणस्तरीय बिरुवा, रोग किरा नियन्त्रण र खेतीका लागि प्राविधिक तालिम सहयोग गर्दै आएको छ ।”

गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नम्बर ७ का वडाध्यक्ष सुजन खड्काले भन्नुभयो, “व्यावसायिक किसानका लागि गाउँपालिकाले सहयोग गर्दै आएको छ । गाउँपालिकाले तल्लो क्षेत्रमा सुन्तला खेती विस्तारको कार्यव्रmम अनुसार किसानलाई सहयोग गर्दै आएको छ । एउटै वडाबाट दुई÷तीन वर्षयता वार्षिक एक करोड रुपियाँको सुन्तला उत्पादन भएको छ ।”