• ८ पुस २०८१, सोमबार

दक्ष जनशक्ति उत्पादन गर्न डिजाइनिङ कोर्स

blog

जेड जेन इडियू हबका प्रमुख कार्यकारी अधिकृत आशिस खोखाली कोर्सबारे जानकारी गराउनुहुँदै । तस्विरः कुमारसिंह विष्ट

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर २२ गते । जेड जेन इडियू हबले सूचना प्रविधिमा दक्ष जनशक्ति निर्माण गर्नेगरी यूएक्स र यूआइ डिजाइन कोर्स सुरु गरेको छ । सो हबले शनिबार आफ्नै कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गरी कोर्सबारे जानकारी गराएको हो ।

हबका प्रमुख कार्यकारी अधिकृत आशिस खोखालीले युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा दक्ष बनाउन नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय संस्थाको सम्पर्क कार्यालय भएर तालिम प्रशिक्षण सुरु गरेको बताउनुभयो । 

उहाँका अनुसार कोर्स गत भदौदेखि सुरु गरिए पनि औपचारिक रुपमा शनिबार त्यसबारे जानकारी गराइएको बताउनुभयो । नेपालमा सूचना प्रविधिमा युवाहरुलाई दक्ष बनाए जागीरको अवसरमा बृद्धि हुने भन्दै उहाँले डिजिटल क्षेत्रमा विज्ञ युवाहरु विश्वको कुनै पनि क्षेत्रमा अवसर पाउने उहाँको बुझाइ छ ।

तालिम प्याकेजमा अन्तर्राष्ट्रिय स्तरको डिजाइनिङ प्याकेजबारे प्रशिक्षित गराउने गरिएको खोखालीले जानकारी दिनुभयो । वार्षिक एक हजार युवालाई प्रशिक्षण दिने हवले योजना बनाएको उहाँको भनाइ छ । 

प्रमुख डिजाइनर न्यूसन मास्केले यसको मुख्य कार्यालय डेनमार्कमा भएको र नेपालमा हबले प्रतिनिधित्व गरिरहेको बताउनुभयो । प्रशिक्षणमा अन्तर्राष्ट्रिय विज्ञहरुले अनलाइनमार्फत तालिम दिनेगरेको उहाँको भनाइ छ । उहाँका अनुसार सो संस्थाको शाखा कार्यालयहरु भारत, अमेरिका, थाइलैण्ड, बेलायत, जर्मनी, नेपाल, अस्ट्रेलिया, जिम्वाबे लगायतको ९९ देशका विभिन्न संस्था यसमा आवद्ध रहेका छन् । विभिन्न ४९० शहरमा यसको सम्पर्क कार्यालय रहेको उहाँले जानकारी दिनुभयो । 


डिजाइन कोर्सको तालिम शुल्क वार्षिक २० हजार रुपियाँ मात्र रहेको र यसले प्रशिक्षार्थीलाई डिजिटली पूर्ण बनाउने विश्वास मास्केले गर्नुभयो । हबले तालिमसँगै केयर गिभरको तालिम समेत दिनेगरेको छ । पहिलो व्याचमा ४ जना युवाहरु प्रशिक्षित भएर प्रमाणपत्र प्राप्त गरिसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार इटा श्रेष्ठ, सपुतकुमार वैद्य, वृशान बज्राचार्य, प्राजल श्रेष्ठ विद्यार्थी रहनुभएको छ ।