गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालयमा निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा मन्त्री पाण्डेले निगमका हरेक विभागले गर्नुपर्ने नियमित कार्यमा ढिला सुस्ती नगर्न र कसैको कारणबाट निगमलाई हानि नोक्सानी हुन गएमा सोही व्यक्ति जिम्मेवार रहनेतर्फ सचेत गराउँदै प्रतिफल देखिने गरी इमानदारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
निगमका बारेमा आफूले निरन्तर गम्भीरतापूर्वक जानकारी लिइरहेको र निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने उहाँले बताउनुभयो । निगमले गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ कसैले नखोस्ने विश्वाससमेत उहाँले दिलाउनुभयो ।
सबैले निगमबाट सेवा सुविधा लिँदा आफूले के थप योगदान गर्न सक्छु भन्ने भावना राखी एकसाथ इमानदारीपूर्वक काम गरे मात्र निगमले प्रगति गर्न सक्ने र समग्र पर्यटन क्षेत्रकै विकास हुने विश्वास व्यक्त गर्दै मन्त्रालयबाट गर्नुपर्ने कार्यमा सधैँ सकारात्मक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाका बारेमा जानकारी गराउनुभयो । निगमले सातै प्रदेशसँग सहकार्य गरी दुर्गम क्षेत्रमा चल्ने साना जहाज खरिद गर्ने योजना अनुसार कार्य भइरहेको, सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको महँगो ब्याजदरको ऋण घटाई आर्थिक व्यवस्थापन गर्न सफ्ट लोन लिने सम्बन्धमा कार्य भइरहेको र निगमले नै इन फ्लाइट किचन सञ्चालन गर्ने योजना अनुरूप कार्य भइरहेकाबारे प्रस्ट पार्नुभयो ।
त्यसै गरी निगमका जहाज तथा विमानस्थलमा चल्ने उपकरणको मर्मतसम्भारमा लाग्ने पाटपुर्जा र निगमको जहाजमा प्रयोग हुने खाद्य सामग्रीमा भन्सार छुट सुविधा उपलब्ध गराउन, हवाई इन्धनमा लगाइएको कर छुट गर्नेतर्फ पहल गरिदिन आग्रह गर्नुभयो ।
निगम राष्ट्रिय ध्वजावाहक भएकाले अन्य राष्ट्रमा त्यहाँका राष्ट्रिय ध्वजावाहकलाई प्रदान गरिने विशेष सुविधा जस्तै निगमलाई पनि नेपाल सरकारका तर्फबाट विशेष सुविधा दिलाउन, विमानचालक तथा अन्य कर्मचारीको सेवा सुविधा वृद्धि गर्न, मौजुदा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा निगम जस्तो विशेष प्रकृतिको हवाई व्यवसायका लागि छुट्टै प्रावधान राखी आवश्यक संशोधन गर्नुपर्ने कार्यमा सहजीकरण गरिदिन पनि उहाँले आग्रह गर्नुभयो ।