ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर २१ गते । नेकपा (एमाले)का महासचिव प्रदीप ज्ञवालीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै विकास निर्माणलाई गति दिन मुख्य राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसबिच सरकार सञ्चालन गर्न गठबन्धन भएको बताउनुभएको छ ।
उहाँले एमाले–कांग्रेस गठबन्धनको वर्तमान सरकार गठन भएसँगै निजी क्षेत्र र जनतामा आशा पलाएको दाबी गर्नुभयो । एमाले जिल्ला कमिटी म्याग्दी पार्टी स्कुल विभागको आयोजनामा जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण शिविरमा प्रशिक्षण दिँदै उहाँले वर्तमान सरकार बनेको ५ महिना पुग्नै लाग्दा यो बिचमा केही महत्त्वपूर्ण कामहरुको सुरुवात भएको बताउनुभयो ।
मुलुकको अर्थतन्त्रमा ठुलो शिथिलता रहेको अवस्थामा अहिलेको सरकार आइसकेपछि निजी क्षेत्रले केही भरोसा गरेको उहाँले बताउनुभयो । अहिलेको सरकारप्रति निजी क्षेत्रले भरोसा गरेको बताउँदै उहाँले भन्नुभयो, ‘‘अहिले पनि सङ्कटबाट मुक्त भइसकेको छैन, अर्थतन्त्र । गर्नुपर्ने थुप्रै कामहरु छन् । तर अहिले पनि व्यवसायीहरुलाई के भरोसा छ भने विकास बुझ्ने प्रधानमन्त्री हुनुहुन्छ । विकास बुझ्ने अर्थमन्त्री हुनुहुन्छ । दुईवटा ठुला दलहरु छन् । अहिले बनेका र भएका नीतिहरु दिगो हुन्छन्, त्यसो भएर अब लगानी गर्दाखेरी हामी सुरक्षित हुन्छौं भनेर निजी क्षेत्रलाई विस्तारै भरोसा जाग्न थालेको छ ।’’
देशलाई राजनीतिक निकास र विकास निर्माणलाई गति दिनका लागि मुलुकका दुई ठुला दल एमाले र कांग्रेस मिलेर अहिलेको सरकार बनेको बताउँदै उहाँले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले देशको अर्थतन्त्र लयमा फर्काउने, द्वन्द्व व्यवस्थापनको सुरुवात, हवाई क्षेत्रको विकास र चीनसँग बिआरआईलगायत महत्त्वपूर्ण सन्धी तथा सम्झौताहरु गरेको बताउनुभयो । उहाँले अहिलेको सरकारले सहमतिको आधारमा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन निर्माण गरी आयोग गठन हुने प्रक्रियामा रहेकाले २०औं वर्षदेखि थाती रहेको द्वन्द व्यवस्थापनको कामलाई पूर्णता दिएर द्वन्द्वपीडिहरुलाई न्याय दिने कामको सुरुवात भएको दावी गर्नुभयो ।
पूर्वमन्त्रीसमेत रहनुभएका एमाले उपमहासचिव ज्ञवालीले बाह्य मुलुकसँगको सम्बन्ध अनुकूल बनाउने सार्थक प्रयास भइरहेको बताउँदै चीनसँग हालै बिआरआईसम्बन्धी सम्झौता भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘बिआरआईमा सहमति भएसँगै नेपाल र चीनको बिचमा आर्थिक विकास र साझेदारीले मूर्तरुप लिने र त्यसले एउटा नेपालको विकासमा ठुलो टेवा पुर्य ाउने ढोका खुलेको छ । यो खाली नेपाल र चीनको साझेदारीका लागि मात्रै होइन । दुईवटा ठूला पार्टीले एउटै साझा अवधारणा बनाउने हो भने भोलि भारतसँगको सम्बन्धमा होस्, अमेरिकासँगको सम्बन्धमा होस्, एउटा सिङ्गै राष्ट्रको भ्वाइस बनाउन सकिन्छ । यसले बाह्य सम्बन्धलाई लिएर यहाँ हुन सक्ने चलखेललाई रोक्न सकिन्छ र एउटा मेजर ब्रेक–थ्रु हामीले यस बीचमा गरेका छौं ।’’
प्रशिक्षण कार्यक्रमलाई एमाले उपमहासचिव ज्ञवालीसहित स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिट व्यूरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापा, केन्द्रीय सदस्य नरदेवी पुन, पार्टी स्कुल विभागका सचिव घनश्याम कोइराला, एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दवाडी, पार्टी स्कुल विभाग सदस्य सुन्दर लामिछाने र एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले सहजीकरण गरिरहनुभएको छ ।
तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षण शिविरमा एमाले म्याग्दीको जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरु, नेता, कार्यकर्ता, जनवर्गीय सङ्गठनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारीलगायतको उपस्थिति रहेको पार्टी अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।