मनाङ समाचारदाता
मनाङ, मङ्सिर २१ गते । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले देश विदेशका पर्यटकको रोजाइमा पर्ने गरेको अन्नपूर्ण क्षेत्रमा २२३ प्रजातिका सुनाखरी भेटिएका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा अन्वेषणका क्रममा ८०० मिटरदेखि चार हजार ५०० मिटरसम्मको उचाइमा ती प्रजातिका सुनाखरी पहिचान गरिएको हो । भौगोलिक विकटता र मौसम प्रतिकूलताका कारण कतिपय स्थानमा पुग्न नसकिए एक वर्ष लगाएर लगातर अन्नपूर्ण क्षेत्रमा पाइने सुनाखरीको अनुसन्धान गरेको वरिष्ठ संरक्षण अधिकृत बाबुलाल तिरुवाले बताउनुभयो ।
संरक्षण अधिकृत तिरुवाको टोलीले अन्नपूर्ण सेरोफेरोमा सुनाखरीका अझै थप प्रजाति भेटिन सक्ने बताएको छ । फूल फुल्ने एकदलीय बिरुवा प्रजातिमा पर्ने सुनाखरी जमिन (भुइँ), सडेगलेका वस्तु, रुख र पाखापहराको चेपमा उम्रने गर्छ । सुनाखरी खाना र औषधीका रूपमा प्रयोग गरिन्छ, फूल फुल्दा आकर्षक देखिने हुँदा यसले प्रकृतिमा सौन्दर्य थपेको हुन्छ । संसारमा अन्त कतै नपाइने सुनाखरी अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइन्छ ।
सुनाखरी दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) मा सूचीकृत वनस्पति हो । औषधीय गुणका भएका कारण कतिपय प्रजातिको सुनाखरीको अवैध तस्करीसमेत हुँदै आएको छ । हिमालदेखि तराईसम्मको भूभागमा पाइने सुनाखरीको संरक्षणमा सम्बद्ध सबै पक्षले विशेष ध्यान दिनुपर्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रविन कडरियाले जानकारी दिनुभयो ।
देशविदेशका वनस्पतिविद् र वैज्ञानिकले अन्नपूर्ण क्षेत्रमा पाइने सुनाखरीको अध्ययन तथा अनुसन्धान गरेको उहाँको भनाइ छ । पाँचऔँलेलगायत नेपालमा सूचीकृत सुनाखरीमध्ये एक तिहाइ प्रजाति औषधीजन्य प्रयोगमा रहेका छन् ।
‘एक्याप’ ले अनुसन्धानका क्रममा भेटिएका सुनाखरीका प्रजाति, बासस्थान, प्रयोग जस्ता विधालाई समेटेर सचित्र पुस्तक ‘अन्नपूर्ण संरक्षण क्षेत्रका सुनाखरीहरू’ प्रकाशनको तयारी गरेको छ । सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको ‘एकयाप’ मा मनाङ, कास्की, लमजुङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् ।