वालिङ समाचारदाता
वालिङ, मङ्सिर २१ गते । स्याङ्जाको कालीगण्डकी–७, मिर्मी आँधीमुहानमा बस्दै आएका माझी तथा बोटे समुदायले वर्षौंको पर्खाइमा पनि लालपुर्जा पाउन सकेका छैनन् । गुठी संस्थानको नाममा रहेको जग्गामा उनीहरू वर्षौंदेखि बस्दै आएका हुन् । माछा मार्ने, स्टिमर चलाउने कामसँगै ज्याला मजदुरी गर्दै आएका बोटे समुदाय लालपुर्जा नहुँदा व्यवस्थित बसाइँ गर्न नसकेको गुनासो गर्छन् ।
स्थानीय मुना बोटेले आफ्नै नाममा जग्गाजमिन नहुँदा सारै समस्या परेको गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “न बैङ्कमा राखेर केही गरौँ भन्न पाइन्छ, न त राम्रोसँग घर बनाउन नै ।”
आँधीमुहान पुग्ने नेताले लालपुर्जा उपलब्ध गराउन सहयोग गर्ने बताउँदै आए पनि समस्या समाधान कुरामा मात्रै सीमित रहने गरेको स्थानीय मनिलाल बोटेले बताउनुभयो । गुठीको नाममा जग्गा हुँदा आफूहरू नेपाली नागरिक नै नभएको हो की भन्ने महसुस भएको उहाँको दुःखेसो छ ।
कालीगण्डकी–७ का वडाध्यक्ष उमप्रकाश भट्टराई भन्नुहुन्छ, “सय वर्षभन्दा धेरैअगाडिबाट उहाँहरू त्यहीँ बस्दै आउनुभएको हो । उहाँहरूलाई लालपुर्जा उपलब्ध गराउन धेरै प्रयास गर्दा पनि सकिएन ।” आफूहरूले निरन्तर प्रयास गरिरहेको भट्टराई बताउनुहुन्छ ।
कालीगण्डकी गउँपालिकाले ६५ घरधुरीको विवरण भूमि आयोग तथा प्रदेश सरकारलाई पठाएको कार्यपालिका सदस्य तथा स्थानीय प्रेम माझीले बताउनुभयो । उहाँका अनुसार पालिकाभर झन्डै ८० घरपरिवारसँगै आफ्नै नाममा जग्गा छैन भने आँधीमुहानमा मात्रै ५५ घरपरिवार रहेको बताउनुभयो ।
आँधीमुहानमा बस्ने अन्य समुदायसँग पनि आफ्नै नाममा जग्गा नरहेको उहाँको भनाइ छ । तत्कालीन भूमि आयोगले भूमिहिनका लागि जग्गा उपलब्ध गराउने उद्देश्यले सूचना प्रकाशित गरेपछि पालिकाले उनीहरूको विवरण पठाएको जनाएको छ ।
कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना निर्माणपछि माछा मार्नेलगायतका काममा समस्या आएको भनी केन्द्रले बोटे, माझी समुदायको माछा मार्ने क्रमलाई सहज बनाउन प्रत्येक वर्ष माछाका भुरा छोड्ने गरेको छ ।