प्रनिश गिरी
कुस्मा (पर्वत), मङ्सिर २१ गते । पर्वतमा प्राविधिक नहुँदा पर्यटन पूर्वाधार विकास योजना कार्यान्वयन नभई अलपत्र परेका छन् । पर्यटन पूर्वाधार विकासका ४२ वटा योजना जिल्ला छन् । चालु आर्थिक वर्षको पाँच महिना पूरा हुन लाग्दासमेत गाउँमा अहिलेसम्म एउटै योजना पुग्न सकेको छैन ।
पर्यटन तथा उद्योग कार्यालय पर्वतमा अस्थायी दरबन्दीको एक जना सबइन्जिनियर पद साउनदेखि यता रिक्त रहेको छ । कार्यालयमा १० जना कर्मचारीको दरबन्दी भएकोमा अहिले आठ जना कार्यरत छन् । प्राविधिक कर्मचारी नभएकै कारण आर्थिक वर्ष २०८१/८२ को पर्यटन पूर्वाधार विकासका योजना उपभोक्ता समितिसँग निर्माण सम्झौता हुन नसकेको कार्यालयका सूचना अधिकारी भीमप्रसाद अर्याल बताउनुहुन्छ । सूचना अधिकारी अर्यालका अनुसार चालु आर्थिक वर्षका लागि पर्यटकीय पूर्वाधार विकासतर्फको बजेट तीन करोड २० लाख विनियोजित छ ।
पर्यटन पूर्वाधार विकासका योजनाबारे जिल्लाका पालिकामा पत्राचार गरिसकेको महिनौँ भइसक्यो । योजना निर्माणका लागि गाउँ गाउँमा धेरै जसो उपभोक्ता निर्माण समिति गठन पनि भइसकेका छन् । उपभोक्ता समितिसँग योजना सम्झौता गरी काम अघि बढाउन आवश्यक पर्ने प्राविधिक लागत स्टिमेट तयार हुन नसक्दा योजना कार्यान्वयन रोकिएको कार्यालयका प्रमुख अशोककुमार नेपालीले बताउनुभयो ।
पर्यटन पूर्वाधार विकासका योजनामा जिल्लाका सात वटै पालिका समेटिएका छन् । पर्यटन पूर्वाधार विकासका योजना सबैभन्दा बढी १३ वटा कुस्मा नगरपालिकामा परेका छन् भने सबैभन्दा कम जिल्लाको दक्षिणी भेगमा पर्ने विहादी गाउँपालिका र महाशीला गाउँपालिकामा दुई/दुई वटा योजना मात्रै छन् ।
कार्यालयका अनुसार सबैभन्दा धेरै योजना पर्ने कुस्मा नगरपालिकामा बजेट एक करोड पाँच लाख छ भने थोरैमा विहादी गाउँपालिकामा जम्मा १० लाख बजेटको दुई वटा पर्यटन पूर्वाधार विकास योजना छन् । पर्यटन पूर्वाधार विकास योजना बजेट अनुसार पाँच लाख बजेटको योजना २२ वटा, १० लाख बजेटका १९ वटा र २० लाखको योजना एक वटा छन् ।