म्याग्दी समाचारदाता
म्याग्दी, मङ्सिर २१ गते । छ वटा स्थानीय तह रहेको म्याग्दीमा हालसम्म रघुगङ्गा गाउँपालिकाले मात्र आफ्नै प्रशासकीय भवन निर्माण गरेर सेवा प्रदान गर्दै आएको छ । जिल्लाका पाँच वटा स्थानीय तहको आफ्नै जमिनमा प्रशासनिक भवन नहँुदा अनेक समस्या भोग्दै आएका छन् ।
जिल्ला सदरमुकाम रहेको बेनी नगरपालिकाका १० वटै वडा कार्यालय आफ्नो स्वामित्वमा छैन । नगरपालिकाको प्रशासनिक भवन रहेको जग्गा तत्कालीन ब्रिटिस गोर्खा वेलफेयरले परराष्ट्र मन्त्रालयको नाउँमा दिएको भए पनि भोगचलन भने नगरपालिकाले गर्दै आएको छ ।
बेनी नगरपालिका प्रमुख सुरत केसीले आफ्नो नाउँमा ल्याउनका लागि नगरपालिकाले आवश्यक प्रक्रिया चालेको भए पनि आफ्नो नाउँमा आइनसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाको आफ्नै नाउँमा संरचना छैन, वडा कार्यालय सबै नगरपालिकाको नाउँमा छन् तर मुख्य कार्यालय नै आफ्नो स्वामित्वमा छैन ।” प्रक्रिया लामो हुने रहेछ, त्यसका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार गाउँपालिकाको भवन निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रियाअगाडि बढेको भए पनि पूर्णता पाएको छैन । जग्गा प्राप्तिपछि भवन निर्माण हुने उहाँले बताउनुभयो ।
रघुगङ्गा गाउँपालिकाको मात्रै आफ्नै स्वामित्वको जमिनमा प्रशासनिक भवन रहेको छ । रघुगङ्गाले आफ्नै जग्गामा प्रशासनिक भवन निर्माण गरेर सेवा प्रवाह गरिरहेको अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “म्याग्दी जिल्लामा पहिलो पटक हामीले आफ्नै जग्गामा भवन बनाएर सेवा प्रदान गर्न थालेका हौँ ।”
पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतीप्रसाद अर्यालले गाउँपालिकाको भवन निर्माणको क्रममा रहेको बताउनुभयो । आवश्यक प्रक्रिया पूरा गरेर भवन निर्माणको काम अगाडि बढेको भए पनि निर्माण सम्पन्न नभएका कारण भाडाको भवनबाट सेवा प्रवाह भइरहेको उहाँले बताउनुभयो । अन्य कुनै बाधा नपरेको खण्डमा जति सक्यो चाँडो आफ्नै भवनबाट सेवा दिने गरी काम गरिरहेको जानकारी उहाँले दिनुभयो ।
त्यस्तै मालिका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले गाउँपालिका भवन निर्माणका लागि जग्गा प्राप्तिको काम भइरहेको बताउनुभयो । आवश्यक प्रक्रियाअगाडि बढाइएको र जति सक्यो चाँडै जग्गा प्राप्त गरी भवन निर्माणतर्फ लागिने उहाँको भनाइ छ । उहाँले अहिले गाउँपालिकाले भाडामा घर लिएर कार्यालय सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले हाल आफ्नो कार्यालय भाडाकै भवनमा सञ्चालनमा रहेको बताउनुभयो ।