अमरराज नहर्की
तनहुँ, मङ्सिर २१ गते । लमजुङको दुई पर्यटकीय स्थल घलेगाउँ र भुजुङ जोड्ने सडक निर्माण कछुवा गतिमा भएको छ ।सडक निर्माणमा ढिलाई भएपछि गण्डकी प्रदलेश सरकारले चासो राखेको छ । क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्म पर्ने सडकखण्डको निरीक्षण गरिएको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी लमजुङमा ठेकेदारले निर्माणमा ढिलाइ गरेको सडकको निरीक्षण गर्नुभएको हो । मन्त्री केसी बिहीबार क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्म पर्ने सडकखण्डको निरीक्षण गर्नुभएको हो । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्याङ्कन तथा अन्य पू्र्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियाँसहितको टोलीले स्थलगत जानकारी लिएको हो ।
मन्त्री केसीले निर्माण कम्पनीका प्रतिनिधिलाई बागलुङपानी–भुजुङ सडकखण्डको काम छिटो सक्न निर्देशन दिनुभएको छ । निर्माण कम्पनीका प्रतिनिधिले चैतसम्म काम सक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बागलुङपानीबाट भुजुङसम्मको १७ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का कान्छाराम–नाना जेभीले विसं २०७६ असोज २९ मा ३४ करोड ७७ लाख रुपियाँमा ठेक्का पाएको थियो । यो सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयअन्तर्गत बजेट परेको थियो । घलेगाउँसम्म १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म सात किलोमिटर सडक ग्राभेल गर्ने सम्झौता थियो । सम्झौताअनुसार ०७८ असोज २९ गतेभित्र काम सक्नुपर्ने भए पनि अझै पूरा भएको छैन । कोरोना भाइरसको सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न लकडाउन भएपछि काम हुन सकेन ।
लकडाउन खुलेपछि ०७९ असोज २८ गतेसम्म काम सक्न पहिलोपटक म्याद थपिएको थियो । दोस्रोपटक २०८१ साल असोज २९ गतेभित्र काम सक्ने भनेर म्याद थप भएको थियो । तर दोस्रोपटक म्याद थप्दा पनि काम हुन सकेन । निर्माण कम्पनीले फेरि ६ महिना थप म्याद मागेको छ । निर्माण कम्पनीले चैतसम्म काम सक्ने भनेपछि मन्त्री केसीले अन्तिमपटक म्याद थप गर्ने÷नगर्ने विषयमा छलफलपछि निर्णय गर्ने बताउनुभयो ।
क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यबहादुर गुरुङले घले गाउँ र भुजुङ पुग्ने सडकको काममा ढिलाइ हुँदा पर्यटकले सास्ती भोग्नु परेको बताउनुभयो । सडक निर्माण सुस्त हुँदा पर्यटक तथा स्थानीयलाई समस्या भएकाले सडक निर्माणको काम छिटो सक्न पहल गरिदिन मन्त्री केसीलाई उहाँले आग्रह गर्नुभयो । गाउँपालिकाको केन्द्र जोड्ने सडक बनाउनुपर्ने भएकाले बजेट विनियोजन गरिदिन अध्यक्ष गुरुङले माग राख्नुभयो । पुमा भीरको पहिरो नियन्त्रण गर्नका लागि पोखरा फर्केपछि पहल गर्ने मन्त्री केसीले बताउनुभयो । मन्त्री केसीले करापुटार–डडुवा–साल्मेभञ्ज्याङ–मालिङ सडक (साल्मेभञ्ज्याङदेखि मालिङ खण्ड)को पनि अनुगमन गर्नु भएको थियो ।