• ८ पुस २०८१, सोमबार

वृद्धवृद्धालक्षित सुस्वास्थ्य केन्द्र

blog

देवघाट सुस्वास्थ्य केन्द्रका लागि तयार पारिएको भवन ।तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली

नारायणगढ, मङ्सिर २१ गते । जीवनको उत्तरार्धमा धार्मिक क्षेत्र देवघाटधाममा जीवन त्याग गर्न पाए मोक्ष पाइन्छ भन्ने विश्वास धेरैलाई लाग्ने गर्छ । यही विश्वासले नै घरगृहस्थी त्यागेर धार्मिक क्षेत्र देवघाटमा आएर कल्पवासमा बस्ने वृद्धवृद्धाको सङ्ख्या बर्सेनि बढ्दो छ । 

घरपरिवार त्यागेर कल्पवासमा बस्ने यस्तै वृद्धवृद्धाको अन्तिम सहारा बन्दै छ देवघाट सुस्वास्थ्य केन्द्र । अहिले निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेको स्वास्थ्य केन्द्रले अन्तिम अवस्थामा पुगेका वृद्धवृद्धाको सहज मृत्यु होस् भनेर छिट्टै ‘हसपिस’ सञ्चालनको तयारी   गरेको छ । 

केन्द्रकी संयोजक सिर्जना पौडेलका अनुसार स्वास्थ्यकर्मीको नियमित निगरानीमा सहज मृत्यु पर्खनका लागि राखिने स्थान नै ‘हसपिस’ हो । गुणनिधि खनाल मेमोरियल ट्रस्टद्वारा सञ्चालित स्वास्थ्य केन्द्र स्थापना भएको पाँच वर्षमा डेड लाखभन्दा बढी बिरामीको उपचार गरिसकेको छ । केन्द्रले उपचारसँगै हसपिस सञ्चालनको तयारी गरेको हो । 

“हामीले सुरुमा दुई शøया र बिस्तारै पाँच शøयाको हसपिस सञ्चालन गर्ने तयारी गर्दै छौँ,” उहाँले भन्नुभयो, “मृत्युको सम्मुखमा पुगेका वृद्धवृद्धालाई स्वास्थ्यकर्मीको निगरानीमा सहज तरिकाले मृत्यु होस् भन्ने उद्देश्यले हसपिस सञ्चालनको निर्णयमा पुगिएको हो,” उहाँले भन्नुभयो । 

हाल संयुक्त राज्य अमेरिकामा रहेका चितवन भरतपुर घर भएका चिकित्सक डा. कृष्णप्रसाद खनाल र उहाँकी श्रीमती डा. सन्ध्या खनालको अगुवाइमा अमेरिकामा बसेका नेपालीको आर्थिक सहयोगमा देवघाटमा सुस्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको हो । २०७७ सालदेखि नै सञ्चालनमा ल्याइएको यो केन्द्रले गलेश्वर आश्रमद्वारा सञ्चालित ज्येष्ठ नागरिक विश्रान्ति आश्रमसँगै एक कारेड रुपियाँभन्दा बढी खर्च गरेर सुविधा सम्पन्न आफ्नै भवनसमेत निर्माण गरेको छ । हाल अमेरिकामा रहनुभएका चिकित्सक डा. खनालले हसपिस सञ्चालनका लागि पूर्वाधार बनिसकेको बताउनुभयो । 

“हामीले हसपिस सञ्चालनका लागि पूर्वाधार तयार बनाएका छौँ । अब स्वास्थ्यकर्मी जनशक्ति तयार गरेर हसपिस सञ्चालन गर्ने हो,” उहाँले भन्नुभयो । नेपाल सरकार, भरतपुर महानगरपालिकालगायतका सरकारी निकायले समेत सहयोग गरे हसपिस सञ्चालनमा सहज हुने पनि उहाँले बताउनुभयो । 

“हामी अमेरिकामा बस्ने नेपालीले त आर्थिक जोहो गरिरहेकै छौँ । यसमा नेपालमा रहेका सामाजिक सङ्घ संस्था, सरकार र स्थानीय निकायले पनि अपनत्व लिएर केही सहयोग जुटाइदिए हसपिस सञ्चालनका लागि सहज हुने छ,” उहाँले भन्नुभयो । 

हसपिस सञ्चालनका लागि चौबिसै घण्टा स्वास्थ्यकर्मीको व्यवस्था हुनु पर्छ । त्यसका लागि कम्तीमा पनि नर्सिङ स्टाफ मात्रै भए पनि तीन सिफ्टमा राख्न जरुरी छ । बिरामीको स्वास्थ्य परीक्षणका लागि ‘अनकल’ मा चिकित्सक पनि राख्नुपर्ने केन्द्र संयोजक पौडेलले जानकारी दिनुभयो । 

कोरोना सङ्व्रmमणका बेला घर घरमै पुगेर मधुमेह, उच्च रक्तचाप भएका बिरामीलाई निःशुल्क औषधी वितरण गर्दै सुरु भएको स्वास्थ्य केन्द्र अहिले हसपिस सञ्चालनको पूर्वाधार तयारी अवस्थामा पुगेको छ । अहिले एक जना स्वयंसेवी सिअहेव र कलेज अफ मेडिकल साइन्स भरतपुर र भरतपुर अस्पतालका चिकित्सकहरूको सहयोगमा स्वास्थ्य उपचार दिइरहेको यो केन्द्रले बेला बेलामा विशेष उपचार शिविर पनि सञ्चालन गरिरहेको छ । 

झन्डै तीन दशकदेखि देवघाटमा रहनुभएका ८१ वर्षीय रेशमलाल पौडेल जटिल रोग भए भरतपुर जानु परे पनि अन्य अवस्थामा केन्द्रमै उपचार पाएर सहज भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दमको समस्या छ । यहाँबाट नियमित औषधी दिनुभएको छ र त सजिलो भएको छ । अब हसपिस सञ्चालन भयो भने परिवारविहीन भएर देवघाटमा बसेका वृद्धवृद्धालाई सहज हुने छ ।”