तौलिहवा समाचारदाता
तौलिहवा (कपिलवस्तु), मङ्सिर २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासले रोजगारीका थुप्रै अवसर प्राप्त हुने बताउनुभएको छ । कपिलवस्तुको जितपुरस्थित बुद्ध रङ्गशालामा आयोजना गरिएको १५ औँ कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री पाण्डेले निजी क्षेत्रको सहयोगबिना पर्यटन क्षेत्रको विकास हुन नसक्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “निजी क्षेत्र अघि अघि सरकार पछि पछि भयो भने मात्रै पर्यटन क्षेत्र अघि बढ्न सक्छ ।” विविधतापूर्ण संस्कृति र प्रकृतिलाई चलायमान बनाउनका लागि पूर्वाधारको विकासमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
पर्यटन क्षेत्रको विकासले रोजगारीका थुप्रै अवसर प्राप्त गर्नुका साथै राष्ट्रको अर्थतन्त्रमा समेत टेवा पुग्ने मन्त्री पाण्डेको भनाइ छ । निजी क्षेत्रको विकासका लागि तिनै तहका सरकारलाई समन्वयात्मक रूपमा अगाडि बढाउनुपर्ने मन्त्री पाण्डेले बताउनुभयो ।
मुलुकमा रहेका संस्कृतिलाई प्रवर्धन र संरक्षण गर्नुका साथै प्रकाशमा ल्याउन उत्तिकै जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले देशमा रहेका राजनीतिक शक्तिहरूले एकता देखाए भने मात्र देशले गति लिन सक्ने बताउनुभयो ।
प्रदेश सभा सदस्य विष्णु पन्थीले लुम्बिनीसँगैै कपिलवस्तुको पनि विकास हुनुपर्ने बताउनुभयो । उहाँले कपिलवस्तु ऐतिहासिक पुरातात्त्विक सम्पदाले भरिपूर्ण रहेकाले यहाँको विकासबिना लुम्बिनीको विकास सम्भव नहुने बताउनुभयो ।