गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २१ गते । समुदायमा मातृशिशु स्वास्थ्य रक्षा एवं स्वास्थ्यप्रतिको जनचेतना विस्तार गर्न सरकारले स्वास्थ्य स्वयम्सेविकाका रूपमा स्थानीय महिलालाई परिचालन गरेपछि जनस्वास्थ्य कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गर्न सघाउ पुगेको छ । स्वास्थ्य स्वयम्सेविकालाई सरकारले जिम्मेवारी थप्दै गएको छ तर जिम्मेवारीअनुरूप सुविधा नभएको गुनासोचाहिँ उनीहरूको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर २३ मा २२ वर्षदेखि स्वास्थ्य स्वयम्सेविकका रूपमा कार्यरत रोशनी केसी स्वास्थ्य स्वयम्सेविकाले जिम्मेवारी अनुसारको सुविधा नपाएको अनुभव सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, “२२ वर्षअघि सुत्केरी, गर्भवतीलाई पोसिलो खाना, बिरामी हुँदा र गर्भवती भएपछि स्वास्थ्य चौकीमा वा आवश्यक पर्दा ठुला अस्पतालमा जानु पर्छ भन्दा पत्याउँदैनथे । हाल निरक्षर आमाबुवाले समेत आफ्ना घरका गर्भवती छोरीबुहारीलाई उचित सल्लाह दिन स्वास्थ्य स्वयम्सेविकलाई खोज्दै आउने स्थिति स्वयम्सेवककै योगदानका कारण हो । समय अनुसार स्थानीय तह र राज्यले स्वास्थ्य स्वयम्सेविकको योगदानको कदर गर्नु पर्छ ।”
स्वास्थ्य स्वयम्सेविका केसीले सुविधा दिन नसकिने भन्दै स्वास्थ्य स्वयम्सेविका नथप्ने, जति सेवामा छन्, उहाँहरूबाटै काम लिने लक्ष्य बनाइरहँदा जनशक्ति अभाव छ तर नयाँ नयाँ जिम्मेवारी थपिँदै गए पनि सुविधा ज्यादै न्यून रहेको उहाँ बताउनुहुन्छ ।
ललितपुरकै वडा नम्बर ४ मा स्वास्थ्य स्वयम्सेविकका रूपमा कार्यरत सुषमा अधिकारी आफ्नो अनुभव सुनाउनुहुन्छ, “विगतमा स्वास्थ्य स्वयम्सेविकाको पोसाक तोकिएको थिएन । घरपरिवार अवलोकनमा हिँड्दा चन्दा माग्न आएको ठानेर हामीले बोलेको कुराप्रति ध्यान नदिने, विश्वास नगर्ने अवस्था पनि थियो तर अहिले देशभरका स्वास्थ्य स्वयम्सेविकाको पोसाक तोकेपछि भने समाजमा पहिचान पाइएको छ ।”
विश्व स्वयम्सेविका दिवसका अवसरमा ललितपुर महानगरपालिकाले नगरभित्र स्वास्थ्य स्वयम्सेविकाको भूमिकामा संलग्न व्यक्तित्वप्रति समर्पित कार्यक्रममा भेटिनुभएका उहाँहरूले स्वास्थ्य स्वयम्सेविकाले मातृमृत्युदर घटाउन गर्भवतीको स्याहार, आमा र बच्चालाई पोसिलो खाना, खोप, भिटामिन खुवाउनुपर्ने, स्वास्थ्य जाँचका लागि अस्पताल, स्वास्थ्य चौकीमा जानु भन्नेलगायत महामारी र प्राकृतिक विपत्का बेलासमेत आफूहरूले खटिएर काम गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभयो ।
स्वास्थ्य स्वयम्सेविका सीता थापाले विगत १६ वर्षदेखि यस क्षेत्रमा सेवा गरिरहेको बताउँदै नागरिकको स्वास्थ्य सुधारमा दिनरात खटिने स्वास्थ्य सेवकका लागि जिम्मेवारी अनुसार सेवा सुविधा कम भए पनि स्वास्थ्य स्वयम्सेवकले आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेकाले स्वास्थ्य क्षेत्रमा निकै सुधार आएको बताउनुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नागरिकको स्वास्थ्य अवस्था सुधारका लागि स्वयम्सेविकाको विशेष भूमिका रहेको बताउँदै महानगरपालिकाले चाहिँ उहाँहरूको सुविधाका लागि विभिन्न प्रयत्न गरेको बताउनुहुन्छ । महानगरपालिकाले बनाएको “स्वास्थ्य स्वयम्सेवक कोष” मा हाल नौ लाख रुपियाँ जम्मा भएको छ । यसमा नगरपालिकाले नौ लाख रुपियाँ नै थप गर्ने महानगरप्रमुख महर्जनले घोषणा गर्नुभयो ।
ललितपुर महानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ९ का अध्यक्ष राजु महर्जनले सो कोष सञ्चालनका लागि कार्यविधि बनाइने र स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्याइरहेका स्वास्थ्य स्वयम्सेविकाका लागि उचित तालिम, प्रशिक्षण र सक्दो सहयोग थप गर्दै जाने आश्वासन दिनुभयो ।