चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर २० गते । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाम (न्वाँगी पर्व) को अवसरमा बिदा दिएको छ । चासोक तङ्नामको अवसरमा नगरपालिकाले शुक्रबार एक दिन स्थानीय बिदा दिएको हो ।
फुङ्लिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले बिहीबार सूचना प्रकाशित गर्दै चासोक तङ्नाम पर्व मनाउन शुक्रबार स्थानीय बिदा दिने निर्णय भएको उल्लेख गर्नुभएको छ । नगरपालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था साथै शिक्षण संस्था बन्द रहने सूचनामा उल्लेख छ ।
यता, पर्वको अवसरमा चासोक तङ्नाम सञ्चालन समितिले अन्तर्राष्ट्रिय आमन्त्रण कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकपलगायतका कार्यक्रम आयोजना गरेको छ । गत मङ्सिर १५ गतेदेखि खेलकुद प्रतियोगिता सञ्चालन भइरहेको छ । शुक्रबार सांस्कृतिक लगायतका कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।
लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्नामअन्तर्गत शुक्रबार विशेष कार्यक्रम रहेकाले उक्त फुङ्लिङ नगरपालिकाले स्थानीय बिदा दिएको हो । चासोक तङ्नाम सञ्चालन समितिका संयोजक चन्द्र थेबेकाअनुसार शुक्रबार राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागितामा सांस्कृतिकलगायतका मनोरञ्जनात्मक कार्यक्रम हुनेछ । कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकपको फाइनल भने शनिबार हुने आयोजकले जनाएको छ ।