काठमाडाैँ, मङ्सिर २० गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौँमा ‘आर्कविल्ड एक्स्पो २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले नेपाल अहिले तीव्र सहरीकरणबाट गुज्रिरहेको बताउनुभयो ।
उहाँले आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठुलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता समेत औँल्याउनुभयो । नेपालको विविधतायुक्त भूगोल, पर्यावरण र सामाजिक सांस्कृतिक परिवेशमा पुर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत बस्ती, स्थानीय मौलिक वस्तुकला, निर्माण शैली र मूर्त, अमूर्त सम्पदाहरू नेपालको ठुलो सम्पत्ति भएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले पछिल्लो समय जलवायु परिवर्तन एवं अन्य विपद्का घटनाहरूमा बढोत्तरी भई विकास निर्माणलाई ओझेलमा पारेको बताउनु भयो । विनाशकारी प्रभावहरू बढिरहेको उल्लेख गर्दै सहरहरू र समुदायहरूको दिगो भविष्य सुनिश्चित गर्न समाधानका उपायहरूको खोजी आजको चुनौती रहेको रहेको समेत बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, "नेपालको संविधान लागू भएर देशको सङ्घीय ढाँचामा पुनः संरचना पश्चात् नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको छ । विकास प्रयासमा खासगरी आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठुलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता रहेको छ । अर्कोतर्फ हालको वर्षहरूमा जलवायु परिवर्तन एवं अन्य विपद्का घटनाहरूमा बढोत्तरी भई विकास प्रयासलाई ओझेलमा पार्ने गरी विनाशकारी प्रभावहरू बढेर गएका छन् । यस परिपेक्षमा हाम्रा सहरहरू र समुदायहरूको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायहरू खोजी गर्न आजको चुनौती रहेको छ ।"
नेपालको विविधतायुक्त भूगोल, पर्यावरण र सामाजिक सांस्कृतिक परिवेशमा पुर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत बस्ती स्थानीय मौलिक वस्तुकला, निर्माण शैली र मूर्त, अमूर्त सम्पदाहरू हाम्रो ठुलो सम्पत्ति भएको उहाँले बत्ताउनुभयो ।
"यिनले स्थानीय स्रोत साधन र सीपको समुचित उपयोग, रोजगारी सिर्जना र पर्यटकीय लाभसहित आवश्यक आर्थिक अवसरहरूको सिर्जना गर्दै आइरहेका छन् । तर अहिलेको निर्माण पद्धतिहरूमा मौलिकताको पक्ष ओझेलमा पर्दै गएको देखिन्छ । नेपाली पहिचानको धरोहरको रूपमा रहेको नेपाली वस्तुकला र निर्मित वातावरणको गौरवमय इतिहासलाई कायम राख्दै आधुनिक विकास निर्माणलाई नेपालीकरणसहितको दिगो बनाउनुपर्ने आवश्यकता महसुस गरेको छु," उहाँले भन्नुभयो, "नेपाल अहिले तीव्रतर सहरीकरणको प्रक्रियाबाट गुज्रिरहेको छ । गाउँबाट मानिसहरु अवसरको खोजीमा सहरमा बसाइसराइ गर्ने प्रवृत्ति बढ्दो छ । विश्व परिवेशलाई हेर्दा सहरीकरणलाई रोक्न नसकिने र यसको व्यवस्थापनको विकल्प नरहेको देखिएको छ ।"
यस्तै, योजनाबद्ध सहरी विकास, भूउपयोग, भौतिक विकासको नियमन र रणनीतिक हिसाबले एकीकृत पूर्वाधारमा लगानी नसकिएको खण्डमा भविष्यमा गम्भीर आर्थिक, सामाजिक र वातावरणीय असरहरू पर्ने उहाँको भनाइ छ ।