कुस्मा समाचारदाता
कुस्मा (पर्वत), मङ्सिर २० गते । पर्वत जिल्ला आन्तरिक तथा बाह्य पर्यटकका लागि चर्चित गन्तव्य बन्दै गइरहेको छ । कालीगण्डकी नदी र मोदीखोलामाथि निर्मित अग्ला झोलुङ्गे पुल र साहसिक खेल बन्जीजम्प सञ्चालनपछि पर्वत पर्यटकको रोजाइमा पर्ने गरेको हो ।
पर्वत धार्मिक पर्यटनको समेत सम्भावना रहेको जिल्ला हो । धार्मिक पर्यटन प्रवर्धनका लागि कुस्मा नगरपालिका–४ स्थित महावीर स्थानमा पोखरा–बागलुङ राजमार्गनजिकै भन्डारा सेवा केन्द्रको स्थापना गरिँदै छ । दुर्गानाथ पशुपति भन्डारा सेवा केन्द्रले पर्वतमा रहेका धार्मिक स्थलको दर्शनका साथै सदरमुकाम कुस्मा हुँदै मुक्तिनाथ पुग्ने साधुसन्त, तीर्थालु, भक्तजनको सेवाका लागि भन्डारा सेवा केन्द्रको स्थापना आफ्नै जग्गामा गर्ने भएको हो । भन्डारा सेवा केन्द्रले साधुसन्त तथा भक्तजनका लागि निःशुल्क भोजन र आवास सेवा अबको तीन महिना भित्रमा उपलब्ध गराउने जनाएको छ ।
भन्डारा सेवा केन्द्रका संरक्षक दुर्गानाथले संस्थाको सेवाबारे भन्नुहुन्छ, “धार्मिक एवं समाजसेवीको सहयोगबाट व्यवस्थित किसिमको सेवा भन्डारा र भोजनालयको स्थापना गरी मानव सेवा गर्ने, साधुसन्त र दीनदुःखीको सेवा गर्ने हेतुले काम अघि बढाइएको हो ।” भन्डारा सेवा केन्द्रले भक्तजनको आर्थिक र भौतिक सहयोगबाट अहिले तीनतले पक्की भवन निर्माण गर्दै छ । भवनमा आवासगृह, भोजनालयसँगै ध्यानसाधना केन्द्रको सेवा उपलब्ध हुने छ । केन्द्रले भन्डारासहित अन्य भौतिक संरचना निर्माणका लागि ६० लाख रुपियाँ लागत अनुमान गरेको छ । भवननजिकै रहेका साधुसन्त नागाबाबा महावीर गिरी महाराज, नागाबाबा विष्णु गिरी महाराज र नागाबाबा पशुपति गिरी महाराजको पवित्र समाधिस्थल वरिपरि सुन्दर बगैँचा र गौशाला निर्माण गर्ने योजना केन्द्रको छ ।
पर्वतमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका गुप्तेश्वर गुफा, मोदीबेनी घाट, पन्चासे, डहरेको लेक, शालग्राम महाशिला, कालाञ्जर पर्वतलगायतका स्थल छन् । ती धार्मिक स्थलमा आउने भक्तजन, जो केन्द्रमा आउने छन्, उनीहरूलाई डिजिटल प्रणालीमार्फत केन्द्रमा रहेको सूचनाघरबाट आवश्यक सूचना र जानकारी गराई धार्मिक पर्यटन प्रवर्धन गर्ने लक्ष्य लिएको केन्द्रकी अध्यक्ष शारदादेवी पौडेलले बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, “मुक्तिनाथको यात्रा गर्ने नेपाल तथा भारतीय साधुसन्त, तीर्थालु र भक्तजनलाई भोजन र आवासको सेवा दिँदै पर्वतको पर्यटकीय स्थलको यथोचित जानकारी दिई धार्मिक पर्यटन प्रवर्धन गर्ने पवित्र उद्देश्यले सञ्चालन गरिने भन्डारा सेवा केन्द्रलाई स्थानीय सरकार तथा सरोकारवाला सबै पक्षको सहयोगको खाँचो छ ।
गुप्तेश्वर धार्मिक पर्यटन प्रवर्धन संस्थाका अध्यक्ष पृथ्वीनारायण शर्माले भन्डारा सेवा केन्द्र स्थापनाले पर्वतको सिङ्गो धार्मिक पर्यटन क्षेत्रको प्रवर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै भन्नुभयो, “गुप्तेश्वर गुफा क्षेत्रमा भन्डारा सेवा केन्द्र बन्नु आफैँमा महत्व राख्छ । संस्कृत पाठशाला र साधुसन्तको समाधिस्थल रहेको स्थानमा भन्डारा सेवा केन्द्रमार्फत साधुसन्त र भक्तजनको सेवा गर्नु पवित्र कर्म हो । पवित्र कर्मसँगै यसबाट धार्मिक पर्यटन प्रवर्धन गर्न सकिने प्रशस्त सम्भावना छ ।