• ८ पुस २०८१, सोमबार

बिआरआई सम्झौतामा हस्ताक्षर

चीनका राष्ट्रपति सीको वैश्विक साझेदारी पथमा नेपाल प्रवेश

blog

बिआरआई सहकार्य फ्रेमवर्क सम्झौतामा हस्ताक्षरपश्चात् बुधबार नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट चीनका नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपाध्यक्ष लिउ सुुुसेलगायत सामूहिक तस्बिरमा । तस्बिर : प्रम सचिवालय

काठमाडौँ, मङ्सिर २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण अर्काे ऐतिहासिक भएको छ । अघिल्लो पटक नेपाललाई भूपरिवेष्टित अवस्थाबाट भूजडित अवस्थामा पुर्‍याउने सम्झौता गर्नुभएका प्रधानमन्त्री ओलीको यस पटकको भ्रमणमा बहुचर्चित चिनियाँ महत्वाकाङ्क्षी साझा विश्व र साझेदारीमा विकासको अवधारणा ‘बिआरआई’ फ्रेमवर्कमा दुईदेशीय प्रतिबद्धता भएको छ । यसले नेपाललाई भूजडित बनाउन थप योगदान पुर्‍याउने छ । भ्रमणका अवसरमा नेपाली राजदूतावासले बुधबार आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री स्वयम्ले भ्रमण ऐतिहासिक भएको बताउनुभयो । 

यसअधि नेपाल र चीन सरकारकाबिच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्य फ्रेमवर्क’ मा बुधबार हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओलीको चीन भमणका क्रममा दुई देशबिचको विकास साझेदारीको कार्यान्वयनलाई गति दिने उद्देश्यका साथ फ्रेमवर्कमा हस्ताक्षर भएको हो । 

चीनले प्रस्ताव गरेको ‘बिआरआई कार्यान्वयन योजना’ शीर्षकलाई नेपाली नेतृत्वमा गठित नेपालको कार्यदलले ‘बिआरआई फ्रेमवर्क’ राख्ने प्रस्तावसहितको विविध सुधारलाई चीनले स्वीकार गर्दै त्यसमा केही संशोधनसहित दुई देशबिच ‘बिआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बिआरआई सहकार्य फ्रेमवर्कको आपसी सम्झौतामा नेपालका तर्फबाट मन्त्रालयका कार्यवाहक सचिव अमृतबहादुर राई र चीनका तर्फबाट चाइना नेसनल डेभलपमेन्ट रिफर्म कमिसनका उपाध्यक्ष लिउ सुसेले हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुईपक्षीय हस्ताक्षरसँगै अब बिआरआई परियोजनाहरू व्यवस्थित रूपमा कार्यान्वयनमा जाने बाटो खुलेको छ । 

यसअघि शीर्षकमा सहमति भए पनि नेपालले परियोजना सञ्चालन गर्दा ऋण नलिने अडानसहितको संशोधन प्रस्ताव गरिएकोमा चीन सरकारले अनुदान (ग्रान्ट) शब्द सिधै राख्न नमानेकाले मङ्गलबार हुने भनिएको हस्ताक्षर रोकिएको थियो । ‘ग्रान्ट फाइनान्सिङ कोअपरेसन मोडालिटी’ अर्थात् ‘अनुदानमा आधारित सहकार्यको मोडालिटी’ भन्ने शब्दावलीलाई परिवर्तन गर्दै चीनले ‘एड असिस्टेन्स फाइनान्सिङ कोअपरेसन’ अर्थात् ‘सहयोगमा आधारित सहकार्य’ शब्दावली चयन गरेपछि थप छलफलको माहोल बनेको थियो । यी विषयमा परराष्ट्रमन्त्री डा.आरजु राणा, चीन पुग्नुभएका कार्यदलका सदस्यद्वय विष्णु रिमाल तथा डा.युवराज खतिवडाले चीनका उच्चाधिकारीसँग परामर्श गर्नुभएको जनाइएको छ ।

प्रस्ट मोडालिटी नहुँदा कुन परियोजना बिआरआई अन्तर्गतको हो र कुन अन्य सहयोगमार्फत हो भन्ने अन्योल थियो । अब आइन्दा यसै फ्रेमवर्क अन्तर्गत समावेश गरिएका परियोजनालाई बिआरआई अन्तर्गतको साझेदारीमा गर्न पनि दुई देशका साझेदार निकायलाई थप सहज भएको छ । नेपालले प्रधानमन्त्री केपी ओलीकै कार्यकालमा सन् २०१७ मा बिआरआई इनिसिएटिभमा साझेदार हुन सहमति जनाउँदै चीनसँग सम्झौता गरेको थियो । 

यस फ्रेमवर्क अन्तर्गत नेपालले प्रस्ताव गरेका सबै परियोजना भने परेका छैनन् । मङ्गलबार दुई पक्षबिचको संयुक्त वक्तव्यमा उल्लेख भए अनुसार चीनका राष्ट्रपति सी चिनफिङले सन् २०१९ मा नेपालको राजकीय भ्रमण गर्दाताका नेपाल–चीन सम्बन्धलाई नयाँ ऐतिहासिक चरणमा पु¥याउँदै विकास र समृद्धिका लागि चिरस्थायी मित्रतासहितको सहकार्यको रणनीतिक साझेदारीमा स्तरोन्नति गर्ने वाचा गर्नुभएअनुसार योजनाबद्ध कार्यान्वयनयुक्त साझेदारीको पहल भएको हो । 

चीनले इमानदारी, पारस्परिक लाभ र समावेशिताको सिद्धान्तमा छिमेकी मित्रतालाई साझेदारीमा परिणत गर्ने नीतिप्रति आफ्नो प्रतिबद्धता अनुसार सहकार्य गर्ने भनेको छ । त्यस्तै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कायम राख्ने पक्षमा दृढताका साथ समर्थन गर्दछ र नेपालको स्वतन्त्र राजनीतिक र सामाजिक व्यवस्था र राष्ट्रिय परिस्थिति अनुकूल विकास मार्गको सम्मान र समर्थन गर्ने प्रतिबद्धता अनुसार यो फ्रेमवर्कमा हस्ताक्षर गर्न मङ्गलबार नै सहमति जनाएको थियो । 

जस अनुसार दुई छिमेकीले संयुक्त रूपमा सञ्चालित कार्यव्रक्रमहरू, आयोजना र गतिविधिहरू सम्पन्न गर्नुका साथै हस्ताक्षर गरेका सम्झौता, र द्रुत कार्यान्वयन सुनिश्चित गर्न सहमत भएका छन् । साथै आआफ्ना विकास रणनीतिहरूको तालमेललाई बलियो बनाउन र अझ गहिरो समृद्धिको यात्रा भेट्न बेल्ट एन्ड रोड इनिसिएटिभको सहयोगमा सहकार्य गर्ने प्रतिबद्धता पनि जनाइएको थियो ।

यसै सम्झौताका आधारमा ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी सम्पर्क सञ्जालको निर्माण र दुई सरकारबिच बेल्ट एन्ड रोड सहकार्यको फ्रेमवर्क निर्माण र कार्यान्वयनमा अघि बढ्ने प्रतिबद्धता पनि साथै भएका छन् ।

 जसले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रूपान्तरण गर्नका लागि बन्दरगाह, सडक, रेलमार्ग, उड्डयन, पावर ग्रिड र दूरसञ्चार जस्ता क्षेत्रमा दुई देशबिचको सम्पर्कलाई सुदृढ गर्ने अपेक्षा दुई छिमेकी मुलुकले राखेका छन् । 

बुधबार भएको सम्झौता अनुसार अब कार्यान्वयनमा जाने परियोजनाहरूमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक आयोजना र हिमालयन सीमापार सम्पर्क सञ्जाल अन्तर्गत जिलोङ–केरुङ–काठमाडौँ रेलमार्ग परियोजना र जिलोङ–केरुङ–रसुवागढी २२० केभी सीमापार प्रसारण महत्वपूर्ण परियोजना रहेका छन् ।

त्यस्तै किमाथाङ्का–खाँदबारी सडक परियोजना, डडेलधुरामा अमरगढी सिटी हल, मदन भण्डारी विश्वविद्यालय निर्माण, काठमाडौँ साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम निर्माण, दमकमा चीन–नेपाल औद्योगिक मित्रपार्क तथा झापा स्पोर्ट्स एन्ड एथलेटिक्स एकेडमी निर्माण पनि फ्रेमवर्कका प्रस्तावित परियोजना रहेका छन् 

बुधबारको सम्झौतापछि दुवै देशको सहमतिमा जिलोङ/केरुङ–काठमाडौँ क्रस–बोर्डर रेलवेको सम्भाव्यता अध्ययन अब अघि बढ्ने भएको छ । जस अनुसार चीन–नेपाल रेलवे सहयोगमा नवौँ कार्य बैठक आयोजना गर्ने विषयमा पनि दुई देशले सहमति जनाएका छन् । चिनियाँ पक्षले नेपाललाई रेलवे क्षेत्रमा पेसाकर्मीहरूलाई तालिम दिन सहयोग जारी राख्ने प्रस्ट्याएको छ । 

ऐतिहासिक सम्झौता 

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ऐतिहासिक महत्व राख्ने खालका सम्झौता भएको प्रतिव्रिmया दिनुभएको छ ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले चीनका लागि नेपाली राजदूतावासले बुधबार बेइजिङमा आयोजना गरेको रिसेप्सन समारोहमा आपसी सम्बन्धलाई व्यापकता, उचाइ र गहिरो एवं अझ मजबुत बनाउन भ्रमण सार्थक रहेको बताउनुभएको हो ।

उहाँले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरेकाले अब चीन जस्ता विकसित मुलुकबाट लगानी र सहकार्य वृद्धि गरी समृद्धिको यात्रामा अगाडि बढिरहेको सन्दर्भमा सन् २०२५ मा धेरै ठुलो सङ्ख्यामा चीनका पर्यटक नेपाल ल्याउने गरी तयारी भएको जानकारी दिनुभयो । उहाँले चीनका व्यवसायी उद्यमीको छलफलबाट आफू उत्साहित भएको जनाउनुभयो । प्रधानमन्त्री ओलीले नेपालमा प्रमुख दुई दलको सहकार्यमा बनेको वर्तमान सरकारले नेपाललाई आधुनिक र समृद्ध बनाउन हरसम्भव प्रयास गर्ने पनि उल्लेख गर्नुभयो ।

परराष्ट्रमन्त्री डा. आरजु राणाले प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई उचाइमा लान बल पुगेको बताउनुभयो । चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले दुई देशको पारस्परिक विश्वास र समझदारी वृद्धि गर्न भ्रमण सफल रहेकोे बताउनुभयो ।

यसैबिच प्रधानमन्त्री ओलीले बुधबार नै चिनियाँ कम्युनिस्ट पार्टीको सङ्ग्रहालयको अवलोकन भ्रमणसमेत गर्नुभयो । चीनको चारदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री बिहीबार नेपाली प्रतिनिधिमण्डलसहित स्वदेश फर्कँदै हुनुहुन्छ ।