• ७ पुस २०८१, आइतबार

एनपिएल : कप्तान अनिल र आशिफ चम्किएपछि जनकपुरको लगातार दोस्रो जित

blog

जनकपुरका खेलाडी । फाइल तस्बिर

काठमाडौँ, मङ्सिर १७ गते । ओपनरद्वय कप्तान अनिल शाह र आशिफ शेख चम्किएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले हरायो । यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई पनि आठ विकेटले हराएको थियो । 

जितका लागि एक सय ४२ रनको लक्ष्य पछ्याएको जनकपुररले १५.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि कप्तान अनिल शाहले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

जारी लिगमा तीन खेल सकिँदा अनिल अर्धशतक पूरा गर्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । उहाँले ४२ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । 

यस्तै आशिफ शेखले ३६ रन बनाउनुभयो । अनिल र आशिफले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्नुभएको थियो । लाहिरु मिलन्थाले २४ र जेम्स निसमले अविजित १६ रन बनाउनुभयो । बलिङमा कर्णालीका मौसम ढकाल र जिसन मक्सुदले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४१ रन बनाएको थियो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक ३६ रन बनाउनुभयो ।

उहाँले २७ बलमा एक चौका तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै अर्जुन घर्तीले ३३ र कप्तान सोमपाल कामीले अविजित २९ रन बनाउनुभयो ।

भारतीय क्रिकेटर शिखर धवन १४ रनमा आउट हुनुभयो । महँगाे मूल्यामा कर्णालीमा अनुबन्ध हुनुभएका धवनले १४ बलमा तीन चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । बाबर हायतले १२ रन जोड्नुभयो । 

बलिङमा कर्णालीका मोहम्मद मोहसिनले दुई विकेट लिनुभयो । ललित राजवंशी, हर्ष थाकर, जेम्स निसम र किशोर महतोले एक एक विकेट लिनुभयो ।

यसअघि सोमबार बिहान भएको खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो ।