नारद कोहार
तौलिहवा(कपिलवस्तु), मङ्सिर १६ गते । कपिलवस्तुको शुद्धोधन गाँउपालिका-१ मा उत्साहपूर्वक मतदान जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वबिहान ७ बजे सुरु भएको मतदान बिहान ११ बजेसम्म १ हजार ६ सय ४७ मत खसेको छ ।
जिल्ला निर्वाचन अधिकारी अमरबहादुर वलीका अनुसार तीन वटा मतदान स्थलमा ६ वटा मतदान केन्द्र स्थापना गरिएको बताउनुभयो । शुद्धोधन गाउँपालिका १ मा निर्वाचनका लागि २ हजार ११२ महिला र २ हजार ७ सय ५६ पुरुष गरी ४ हजार ८ सय ६८ मतदाता छन् ।
नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रहेको रिक्त पदको लागि उप निर्वाचन हुँदै छ । उक्त पदका लागि चार स्वतन्त्रसहित १४ जना प्रतिस्पर्धामा छन् । निर्वाचनलाई भयरहित ढङ्गबाट सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनुभयो ।