काठमाडौँ, मङ्सिर १५ गते । चाणक्य कलेजका विश्वराम कुँवर र लालीगुराँस नेसनल एकेडेमीकी अस्मिता भुजेल वैकुण्ठ मानन्धर अन्तरविद्यालय पाँच किलोमिटर दौड प्रतियोगितामा शनिबार पहिलो हुनुभएको छ । प्लस टुको छात्रमा विश्वराम तथा छात्रामा अस्मिता पहिलो हुनुभएको हो ।
विश्वरामले निर्धारित दूरी १८ मिनेट ०४.५ सेकेन्डमा पुरा गर्नुभयो । नव प्रभातका तयाहाङ राई दोस्रो तथा त्रिवेणी पब्लिकका अमृत विश्वकर्मा तेस्रो हुनुभयो । अस्मिताले दुरी तय गर्न २१ मिनेट ३२.७ सेकेन्ड समय खर्चिनुभयो । लालीगुराँसकै भगवती खड्का दोस्रो तथा एभरेस्टकी स्वस्तिका तिरुवा तेस्रो हुनुभयो ।
दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक वैकुण्ठ मानन्धरको नाममा स्थापना गरिएको वैकुण्ठ मानन्धर खेलकुद नेपालद्वारा आयोजित प्रतियोगिताको कक्षा ८ देखि १० सम्मको छात्रमा ब्राइट होराइजनका हस्त सुनार १८ मिनेट १७.२ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहनुभयो ।
सरस्वतीका नमराज बानियाँ दोस्रो तथा महेन्द्र ग्रामका सन्तोष कार्की तेस्रो हुनुभयो । सो स्पर्धाको छात्रामा लालीगुराँसकी शर्मिला विकले स्वर्ण जित्नुभयो । शर्मिलाले २३ मिनेट ०२.३ सेकेन्ड समय खर्चिनुभयो । श्रीकृष्णकी प्रमिशा कार्की दोस्रो तथा श्रीकृष्णकै अस्मिता गोले तेस्रो हुनुभयो ।
भेट्रान पुरुष ६५ वर्षमाथि रामकृष्ण महर्जनले स्वर्ण, पुष्पलाल श्रेष्ठले रजत र कुमुदराज श्रेष्ठले कांस्य जित्नुभयो ।४५ देखि ५५ वर्षमा भीमबहादुर गुरुङ पहिलो, राजु भण्डारी दोस्रो र रामचन्द्र श्रेष्ठ तेस्रो हुनुभयो । भेट्रान महिलामा श्रीकृष्ण सिन्तकला पहिलो, शर्मिला बस्नेत दोस्रो र कल्पना महर्जन तेस्रो बन्नुभयो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, आयोजक संस्थाका अध्यक्ष वैकुण्ठ मानन्धरलगायतले पुरस्कार प्रदान गर्नुभयो ।
दौडमा करिब ६ सय ५० प्रतिस्पर्धी सहभागी थिए । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भएको दौड दशरथ रङ्गशालामै आएर सकिएको थियो ।