• १२ पुस २०८१, शुक्रबार

मोबाइलमै मौसमको सूचना

blog

जलवायु मापनयन्त्र हस्तान्तरण गर्दै मौसम मापनयन्त्र गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव तोयनाथ पौडेल ।तस्बिर : अर्जुन काफ्ले

स्याङ्जा समाचारदाता 

स्याङ्जा, मङ्सिर १४ गते । स्याङ्जाको आँधीखोला र फेदीखोला गाउँपालिकाका बासिन्दाले जलवायुबारे मोबाइलबाटै अग्रिम खबर पाउने भएका छन् । जलवायु मापन केन्द्र स्थापना गरेसँगै यहाँका बासिन्दाले मौसमबारे मोबाइलबाटै खबर पाउने भएका हुन् । आक्स नेपालले युएसआइडीको जल जङ्गल परियोजनामार्फत दुई पालिकामा जलवायु मापनयन्त्र राखेर यहाँ केन्द्र स्थापना गरेको हो । 

मौसम मापनयन्त्र गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव तोयनाथ पौडेलले सोलारबाट मापनयन्त्रमा जोडिएको ब्याट्री चार्ज हुने र ब्याट्रिका माध्यमबाट यन्त्र चल्ने छ भने सोही यन्त्रबाट डिस्प्ले चल्ने र मौसमको जानकारी पाइने बताउनुभयो । 

डिस्प्लेमा आएको सूचना गाउँपालिकाका कर्मचारीका माध्यमबाट पालिकाभित्रका हरेक नागरिकको मोबाइलमा सन्देश पुग्ने आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो । उहाँले मौसमको सन्देश पालिकाका सूचना अधिकृतको मोबाइलमा जाने र रेकर्ड भएको सन्देश पालिकावासीसम्म पठाउने बताउनुभयो । एक हप्तासम्मको सूचना मापनयन्त्रमार्फत पूर्वअनुमान हुने र पालिकावासीको मोबाइलमा पुग्ने बताउँदै पौडेलले यस यन्त्रले पालिकावासीलाई राहत पुग्ने बताउनुभयो । यन्त्रमार्फत तापक्रम, हावाको गति, वर्षालगायतबारे थाहा पाइने छ भने उक्त सूचना पालिकावासीलाई पठाइने छ । 

मौसम मापनयन्त्र गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव पौडेलले दुवै पालिकालाई उक्त यन्त्र हस्तान्तरण गर्नुभएको हो । समयमै मौसमको सूचना तथा जानकारी प्राप्त गर्दा स्थानीयवासीलाई ठुलो फाइदा पुग्ने सचिव पौडेलले बताउनुभयो । मापनयन्त्र आक्स नेपालले सात/सात लाख रुपियाँमा खरिद गरेर दुई पालिकालाई दिएको आक्सका अध्यक्ष रुकुमदत्त पौडेलले बताउनुभयो । पोखरानजिक तथा हिमाल देखिने पालिका भएको र आफूले काम गरेको पालिका भएकाले दुई पालिका रोजेको पौडेलले बताउनुभयो । 

पहिलो चरणमा आँधीखोलाले वडा नं. ४ र फेदीखोलाले वडा नं. ४ र ५ का बासिन्दाको मोबाइल नम्बर सङ्कलन गरेको छ भने सो सकेसँगै सबै वडामा क्रमशः पालिकावासीको नम्बर सङ्कलन गरेर मौसमको सन्देश पठाइने छ । मापनयन्त्र राखिएसँगै यहाँका कृषक, विद्यार्थी, वृद्धलगायतलाई मुख्य राहत मिल्ने देखिएको छ ।