राधाकृष्ण डुम्रे
वालिङ, मङ्सिर १३ गते । स्याङ्जाको पुतलीबजार नगरपालिकाले अगुवा कृषकलाई जैविक मल बनाउने तरिका सिकाउन सुरु गरेको छ । नगरपालिकाका कृषकलाई अर्ग्यानिक तरकारी खेतीमा आकर्षण बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कृषकलाई अर्ग्यानिक उत्पादनमा जोड दिन नगरपालिकाले विभिन्न काम गरिरहेको छ ।” अर्ग्यानिक तरकारी उत्पादन गर्ने योजनाका साथ नगरपालिकाले जैविक मल बनाउने तालिम दिएको छ ।
पालिकाले मौसमी तथा बेमौसमी तरकारी उत्पादनलाई बढाउँदै यसको बजारीकरणका लागि पहल गरिरहेको प्रमुख रेग्मीले बताउनुभयो ।
नगरपालिकाका १४ वटै वडाहरूबाट प्रतिनिधित्व गर्नेगरी ३२ जना कृषकहरूलाई तालिम प्रदान गरिएको कृषि शाखाका प्राविधिक सहायक सुवास ढकालले बताउनुभयो । अगुवा कृषकलाई सैद्धान्तिक तथा प्रयोगात्मक तालिम दिइएको हो । तरकारी उत्पादन बढाउने नाममा रासायनिक मलको प्रयोग बढ्न थालेको भन्दै नगरपालिकाले जैविक विषादी बनाउने तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । घरगोठमा उत्पादन हुने फोहोरलाई जैविक विषादी मल बनाउन प्रयोगात्मक रूपले कृषकलाई सिकाइएको ढकालले जानकारी दिनुभयो ।
अर्ग्यानिक उत्पादन बढाउन नगरपालिकाले नीतिगत रूपमा नै व्यवस्था गरी काम गरिरहेको नगरप्रमुख रेग्मीले बताउनुभयो । तरकारी उत्पादन बढाउने नाउँमा विषादीको अत्यधिक प्रयोग भइरहेको उहाँको भनाइ छ । यसलाई रोक्न अर्ग्यानिक उत्पादन गर्ने कृषकलाई अनुदान दिन लागिएको प्रमुख रेग्मीले बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख देवी अर्याल, आर्थिक विकास समिति संयोजक तथा नगर प्रवक्ता मनोज पौडेल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना लगायतले स्वस्थ नागरिक बनाउन र बन्न सबैले विषादीयुक्त बस्तुलाई विस्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
तीन दिनसम्म चलेको तालिम कृषि ज्ञान केन्द्र बागवानी विकास अधिकृत विकास बि.क., नगरपालिकाका कृषि शाखाका प्राविधिक सुवास ढकाल, नवीन केसी र कमला जैसीले सहजीकरण गर्नु भएको थियो । तालिमले मौसमी र बेमौसमी तरकारी उत्पादनसँगै जैविक मल कसरी बनाउने भन्ने विषयमा जानकारी मिलेको तालिममा सहभागी कृषकहरूले बताएका छन् । तालिम लिएका अगुवा कृषकहरू अब आ—आफ्ना वडामा प्रशिक्षकको रूपमा काम गर्ने पालिकाले जनाएको छ ।