ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर १२ गते । बेनीमा छात्रा फुटबल प्रतियोगता सुरु भएको छ । छात्राहरुको खेल प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु भएको हो ।
लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३–१५ सम्म हुने प्रथम लायन्स कप अन्तरमाध्यमिक विद्यालय (कक्षा १० सम्म) छात्रा रनिङ शिल्ड फुटबल प्रतियोगिताको बुधबार एक कार्यक्रमबिच म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले उदघाटन गर्नुभएको हो ।
प्रतियोगिताले फुटबल खेलाडीको पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने, प्रबक्ता रमेशकुमार श्रेष्ठ, म्याग्दी फुटबल संघका अध्यक्ष कुमार बानियाँले छात्राहरूको फुटबलको प्रतिभालाई आवश्यक सहयोग गर्ने बताउनुभयो । प्रथम लायन्स कप फुटबल प्रतियोगिताको पहिलो खेल मंसिर १३ गते बिहीबार बिहान प्रकाश मावि र न्यू वेष्ट प्वाइन्ट आवासीय माविबिच हुनेछ ।
प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेता २० हजार रुपियाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपियाँ नगद प्रदान गरिनेछ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगदसहित पुरस्कृत गरिनेछ ।
म्याग्दीबाट राष्ट्रिय स्तरमै पुगेका महिला भलिबलकी कप्तान अरुणा शाही, नेपाल पुलिस क्लबकी कप्तान कमला पुन, भारत्तोलन खेलाडी तारादेवी पुन जस्ता प्रतिभा जन्माएकाले फुटबलतर्फको सम्भावनाको समेत खोजीका लागि प्रतियोगिताको आयोजना गरिएको लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष सोहन श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको छ ।