काठमाडौँ, मङ्सिर १२ गते । तोरनविक्रम शाही सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि नजिक पुग्नुभएको छ ।
पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगिताको तेस्रो दिन बुधबार तोरनले एक अन्डर ७१ खेल्नुभयो । ५४ होलको समाप्तिसँगै तोरनको कूल ११ अन्डर २०५ स्कोर छ ।
चार स्ट्रोकले पछि पर्नुभएका एमेच्योर गल्फर सद्भाव आचार्य र राहुल विक कूल सात अन्डर २०९ स्कोरका साथ संयुक्त दोस्रो स्थानमा हुनुहुन्छ । बुधबार सद्भावले ६ अन्डर ६६ र राहुलले दुई अन्डर ७० खेल्नुभयो ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपाले आयोजना गरेको प्रतियोगिताको फाइनल राउन्ड बिहीबार हुनेछ । कूल आठ लाख ८२ हजार पुरस्कार राशि रहेको यस प्रतियोगिताका विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुनेले ७५ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।