• २४ पुस २०८१, बुधबार

हाईस्कुल राष्ट्रिय क्रिकेट पुसमा

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, मङ्सिर १२ गते । हाईस्कुल राष्ट्रिय क्रिकेट प्रतियोगिता पुसको पहिलो साताबाट सुरु हुने भएको छ ।

ई-प्लानेट एजुकेसन कन्सल्टेन्सी र हाइपयेती इभेन्ट्सको आयोजनामा पुस ३ गते देखि सात वटै प्रदेशमा छनोट प्रतियोगिता हुने र माघ ९ देखि १२ गतेसम्म काठमाडौँको मूलपानी मैदानमा सातै प्रदेशबाट छनोट भएर आएका र आयोजक गरी आठ टोलीबिच अन्तिम चरणमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीले मात्र भाग लिन पाउने आयोजकले जनाएको छ । टी–१० फरम्याटमा खेलाइने प्रतियोगितामा फाइनल चरणको विजेताले एक लाख र उपविजेताले  ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्टलाई जनही १० हजार रुपियाँ प्रदान गरिने छ ।

यस्तै इटहरी, जनकपुर, बुटवल, पोखरा, सुर्खेत, धनगढी र काठमाडौँमा हुने पहिलो चरणको छनोट प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपियाँ पुरस्कार पाउनेछ । युवा प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रव्यापी क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकको दाबी छ ।