• २१ पुस २०८१, आइतबार

दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालद्वारा अफगानिस्तान पराजित

blog

नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टोली । तस्बिर साभार : हाम्रो खेलकुद

काठमाडौँ, मङ्सिर १० गते । दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । नेपालले अफगानिस्तानलाई एक सय आठ रनले हराएको हो ।

पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज टस हारेपछि पहिला ब्याटिङ गरेको थियो । नेपालले जितका लागि अफगानिस्तानसामु दुई सय २९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर अफगानिस्तानले सबै विकेट गुमाएर एक सय २० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अर्द्ध शतकीय पारी खेले । बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन तथा चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए । यस्तै भरत थापाले २१ तथा सागर लामाले चार रन बनाए । अफगानिस्तानका बलरहरूले नेपाललाई ३९ अतिरिक्त रन दिएका थिए ।

यस्तै नेपालविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तानका अबाशीनले ५२, द्वारनले २१ तथा शराफतले १३ रन बनाए । बलिङतर्फ नेपालका लागि सुनिल राना मगरले तीन तथा भरत थापा, अमिश गुरागाईँ र सुनिल सुवेदी क्षेत्रीले एक एक विकेट लिए ।

नेपालले मङ्गलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्ने छ । यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग तथा दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र दक्षिण अफ्रिका सहभागी छन् । रासस