• १ माघ २०८१, मङ्गलबार

यस्तो छ एनपिएल ट्रफीको विशेषता

blog

नेपाल प्रिमियर लिग (एनपिएल) को रनिङ ट्रफी । तस्बिर : गोरखापत्र

काठमाडौँ, मङ्सिर १० गते । नेपाली क्रिकेटको विकासले बिस्तारै अन्तर्राष्ट्रिय मञ्चमा पाइला टेक्दैछ । कमजोर संरचनाबिच दुई पटक आइसिसी टी-२० विश्वकपको यात्रा तय गरेको क्रिकेटलाई थप उचाइ दिने काम नेपाल क्रिकेट सङ्घ (क्यान) ले गरिरहेको छ । 

घरेलु क्रिकेट संरचनालाई बलियो बनाउन र खेलाडीलाई व्यावसायिक बनाउने उद्देश्यले क्यानको आयोजनामा यही मङ्सिर १५ गतेदेखि त्रिवि मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजना हुँदैछ ।

विश्वका स्तरीय फ्रेन्चाइज लिगको अवधारणालाई पछ्याउन क्यानले आफ्नै अग्रसरतामा एनपिएल आयोजना गर्न लागेको हो । नेपालको भौगोलिक र सांस्कृतिक परिदृश्यलाई समेत समेट्ने गरी विभिन्न सहर र प्रदेशको नाममा आठ वटा फ्रेन्चाइज टोलीले एनपिएलमा प्रतिस्पर्धा गर्दैछन् । 


एनपीएलको माहौलसँगै साेमबार नेपालको सांस्कृतिक धरोहर धरहराबाट एनपिएल ट्रफीको प्रधानमन्त्री केपी शर्मा ओलीबाट अनावरण भएको छ । प्रधानमन्त्री ओलीले आठवटै टोलीका मार्की खेलाडीको रोहवरमा धरहरालाई साक्षी राखेर ट्रफीको अनावरण गर्नुभएको हो । 

क्यानले एनपिएललाई विश्वको सगरमाथा जस्तै उच्च बनाउन ट्रफीको टुप्पोमा सगरमाथा क्षेत्रस्थित कालापत्थरको ढुङ्गा राखेर थप महत्त्व बढाएको छ । ट्रफीको सार्वजनिकसँगै सामाजिक सञ्जालमा यसको चर्चा थप चुलिएको छ ।

एनपिएलका संयोजक एवं क्यानका सचिव पारस खड्काले नेपालको प्राकृतिक सम्पदा सगरमाथाको संरक्षण र प्रवर्धन गर्न विश्वमा सन्देश दिने उद्देश्यले ट्रफीमा कालापत्थरको ढुङ्गा राखिएको बताउनुभयो । 

‘‘सगरमाथाको काखमा रहेको कालापत्थरबाट ल्याइएको ढुङ्गा नै ट्रफीको मुख्य आकर्षण हो । यसले विश्व सम्पदाको सूचीमा रहेको संसारकै अग्लो सम्पदाको संरक्षण र प्रवर्धन गर्नेछ । साथै एनपिएलको माध्यमबाट पर्यटनमा सहयोग पुग्ने आशा राखेका छौँ,’’ पारसले भन्नुभयो । ट्रफीमा प्रयोग गरिएको ढुङ्गा पर्वतारोही निमा शेर्पा र मिङमा शेर्पाले कालापत्थर क्षेत्रबाट काठमाडौँ ल्याउनुभएको हो । 

क्यानका प्रवक्ता छुम्बी लामाकाअनुसार एनपिएल ट्रफीलाई सिम्बोलका रूपमा सगरमाथाको उचाइसरह  ८८४८.८६ मिटर उचाइ दिइएको छ । करिब तीन किलो तौल रहेको ट्रफी भारतको मुम्बई सहरका कालीगढले बनाएका हुन् । साधारण धातु (मेटल) प्रयोग गरी बनाइएको यस ट्रफी रनिङ ट्रफीको रूपमा एनपिएलमा प्रयोग हुनेछ । क्यानले विजेतालाई यस्तै स्वरूपको प्रतिकृति (रिप्लिका) ट्रफी प्रदान गर्नेछ । क्यानले ट्रफीको लागत मूल्य भने खुलाएको छैन । 


आकर्षक ट्रफीको अनावरणसँगै नेपालको खेल पर्यटन, सांस्कृतिक धरोहर तथा नेपाली खेलकुदको पहिचान र गौरवको प्रतीकका रुपमा एनपिएलले थप उचाइ लिने क्यानको विश्वास छ ।

पुस ६ गतेसम्म सञ्चालन हुने एनपिएलमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा विराटनगर र जनकपुरबिच भिडन्त हुनेछ । 

भिडियोमा स्वर सपना थामी र दृश्य सम्पादन मनोजरत्न शाही : 



यो पनि पढ्नुहोस

एनपिएलका आठ मार्की खेलाडीको नालीबेली

प्रधानमन्त्रीद्वारा एनपिएलको ट्रफी अनावरण