• ७ मंसिर २०८१, शुक्रबार

राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महोत्सव सुरु

blog

सम्मान पछि खेलाडीहरु । तस्विरः अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, मङसिर ६ गते । अर्जुन चौपारी गाउँपलिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महोत्सव बिहीबारदेखि सुरु भएको छ । मङसिर –८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाको ३३ विद्यालयका नौसय विद्यार्थीको सहभागिता छ । ४५ स्वर्ण, ४५ रजत र ४५ कास्य पदकको लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा कक्षा –१ देखि १२ कक्षाका विद्यार्थीको सहभागिता छ । 

खेलकुद महोत्सबवमा कक्षा –१ देखि कक्षा –५ सम्म चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य प्रतियागिता छ । यस्तै, कक्षा –६ देखि कक्षा –१२ सम्म दौड, हाइजम्प, लड्ढजम्प, त्रिपलजम्प, भलिबल, कबड्डी, डोरी तान्ने खेल छ । 

खेलकुदको उद्घाटनसत्रमा युएईमा सञ्चालित यू–१९ विश्वकपका छनोटमा उपाधि जितेका स्याङ्जाका तीन खेलाडी पुतलीबजार नगरपालिका –१ का ज्योत्सिना मरासिनी, १३ का सिमाना केसी र कुसुम गोदार तथा क्यान स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई सम्मान गरिएको थियो । 

तीन खेलाडीलाई जनही १५ हजार रुपियाँ नगदसहित सम्मानपत्र र र अध्यक्ष थापालाई सम्मानपत्रले सम्मान गरिएको हो । खेलाडीलाई गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङ, प्रकाशकीय अधिकृत कौशल पाण्डेले सम्मान गर्नुभएको हो । कार्यक्रममा क्यानका अध्यक्ष थापा, सम्मानित खेलाडी सिमाना केसी, वडाध्यक्ष रनबहादुर थापालगायतले मन्तव्य राख्नुभयो ।