• ११ पुस २०८१, बिहिबार

बस्नेतको ‘प्रारम्भिक तथा जीवनोपयोगी शिक्षा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ३ गते । डम्बरबहादुर बस्नेतको ‘प्रारम्भिक तथा जीवनोपयोगी शिक्षा’ पुस्तक सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा पूर्व मुख्यसचिव डा. विमल कोइराला, पूर्वसचिव प्रमोद कार्की र पूर्वन्यायाधीश रामकृष्ण विष्टलगायतले ‘प्रारम्भिक तथा जीवनोपयोगी शिक्षा’ पुस्तकको लोकार्पण गर्नुभएको हो ।

पूर्वन्यायाधीश विष्टले बालबालिकाका लागि उपयोगी हुने सो पुस्तकले पठन संस्कृतिको जग बलियो बनाउन योगदान दिने विश्वास व्यक्त गर्नुभयो । डा. कोइरालाले अङ्ग्रेजी/नेपाली भाषाको चपेटामा परेका अहिलेका पुस्ताका बालबालिकालगायत युवालाई व्यावहारिक ज्ञानसहित पढ्ने संस्कृतिको विकासका लागि लाभदायक हुने बताउनुभयो ।

उहाँले लेखक बस्नेतले अङ्ग्रेजी, नेपाली दुवै विधिमा कसरी पढ्ने भन्ने ज्ञानसहितको पुस्तक लेखेर गुण लगाउनुभएको बताउनुभयो । लक्ष्मण बस्नेतले सो पुस्तकमाथि समीक्षा गर्दै अन्य लेखकको भन्दा फरक र प्रविधिका कारण मोबाइलमा मात्र अल्झिन मन पराउने आजका पुस्ताका लागि पुस्तक उपयुक्त भएको बताउनुभयो । उहाँले धार्मिक तथा नैतिक शिक्षामा विश्वास नराख्ने युवा जमातलाई समेत विपस्यना, बुद्धका उपदेश, नैतिक कथामा लुकेका तर्कपूर्ण तथ्यलाई पुस्तकले पस्कन सफल भएको र पाठ्यक्रममै समावेश गर्दा पनि लाभदायक हुने विचार व्यक्त गर्नुभयो । 

पूर्वसचिव कार्कीले पुस्तक लेखकको सिप र रुचिले  निक्कै व्यावहारिक र बाल उपयोगी हुने गरी तयार भएको नौलो धारको बनेको बताउनुभयो । लेखक बस्नेतले आफूले अध्ययन गरेको समय, जीवनमा भेटिएका राम्रा गुरुवर्ग, अध्यात्मको खोजीमा अध्ययन र अभ्यास गर्दा भेटिएका थुप्रै धर्म सम्प्रदायको नीति तथा जातक कथा, हालको अध्यापन शैलीलगायत थुपै्र व्यावहारिक माध्यमबाट सिर्जित भावनात्मक र प्रयोगात्मक प्रयासबाट पुस्तक तयार भएको बताउनुभयो ।