• ७ पुस २०८१, आइतबार

बिच सडकमा (कथा)

blog

म लडेको देखेर मोटरसाइकलवालाले मौका छोपिहाल्यो । इन्जिन बन्द भएको थियो तर भुटुट्ट स्टार्ट गरेर कुदाइहाल्यो । म हेरेको हेर्‍यै भएँ । ऊ कता गायब भयो थाहा भएन । अलि पर सडकलाई जङ्गलले ढाक्थ्यो । उसको नम्बर पनि मैले नोट गरिनँ । लडेको बेला नम्बर नोट गर्न पनि सकिएन, होसै पनि भएन । म बाटोमै लडिरहेँ । कोही आउलान् भनेर बाटो हेरिरहेँ ।

मैले सोचेँ, केही सहयोग त पाइएला । एउटा साइकल ओरालोमा पाइडल नमारी कुदाउँदै आयो । बेला बेला एकदुई पाइडल दिइहाल्थ्यो । साइकलवाला मबाट तर्केर अघि बढ्यो । मैले कराउँदै भनेँ, “ए भाइ ! मलाई मद्दत गर ।” साइकलवालाले पछाडि फर्केर हेर्ने दयासम्म देखाएन । चिच्च्याएर भन्यो, “काममा पुग्न हतार भइरहेछ । अर्को मानिस आउँदै छ, मद्दत माग्नुस् ।” म त्यति बेलासम्म टाठै रहेछु । 

उसको जवाफको प्रत्युत्तर थिएन मसँग । काँतर भएँ म । यसरी पल्टिराखेर त भएन । कम्तीमा उभिने प्रयास गर्नुपर्‍यो तर सकिनँ । सम्झना भयो, मोटरसाइकल अलि स्पिडमै थियो । कहाँनिर चोट दिएछ ? चोट गम्भीर खालकै थियो । मोटरसाइकलले ठक्कर दिएर ज्यान जान सक्छ तर म बाँचेँ । त्यो को होला जसले मलाई ठक्कर दिएर लडेपछि मौकाको फाइदा उठाएर भागिहाल्यो । केही नभए उठाएर बाइकमा राख्दो हो र अस्पताल लगेर छोड्दो हो । म प्रहरीमा रिपोर्ट गर्ने थिएँ वा थिइनँ, त्यो पछिको कुरो थियो । मेरो ज्यान पनि जान सक्थ्यो । नातिको अनुहार झलझली आँखामा नाच्न आयो । धेरै दिन नाति खेलाउन लेखेको रहेनछ । ऊ मेरो बाटो हेरिरहेको होला । बाटो हेरेको हे¥यै हुने भो । म बाहिरबाट फर्कंदा टफी वा चकलेट जे भए पनि उसका लागि भनेर नबिर्सी ल्याउँथेँ । अब त्यो टुट्ने भो । उसले केही दिनपछि भने मलाई बिर्सने छ, मरेँ भने । मलाई मर्ने इच्छा थिएन । यस्तो लाग्थ्यो, कसैले अस्पताल त अवश्य पु¥याउला । अस्पताल नपु¥याउँदै म यहीँ कुकुरको मृत्यु मरेँ भने पनि मानिसहरूले मलाई प्रहरीमा रिपोर्ट गरेर अस्पतालको मुर्दाघरमा राख्ने काम त गर्लान् । मेरो पहिचान नखुलुन्जेल । प्रहरीले पोस्टमार्टम पनि गराउला । 

मानिसको जिन्दगी पनि के रहेछ र ? समाज भन्यो, भाग्य भन्यो, सन्तान भन्यो, आफन्त भन्यो, तर खै ? अहिले म यसरी असहाय पल्टेको छु, कोही छैन यहाँ । सडक सुनसान छ । कुन भेगको सडक रहेछ यो भन्नुहोला । गाउँछेउको सडक हो । दसैँको समय छ र सबै घरमा व्यस्तता छ । कोही बाहिर निस्कने मुडमा छैन । उसै पनि अरू दिन पनि पाँचै बजे उठेर मर्निङ वाकमा निस्किहाल्नुपर्ने के हतार छ र भन्थ्यो छोरो । 

हतार यही रहेछ । इ मर्नै लागिरहेछु, उद्धार गर्ने कोही छैन । तै उताबाट एउटा मानिस लुरुलुरु हिँडेर आइरहेछ । ऊ म पल्टेको देखेर टक्क अडिएको छ । टाढैबाट ठम्याइरहेछ, सडकमा पल्टिएको म लास हुँ कि जिउँदो मानिस ? मेरो घाँटी पनि सुकिसकेको छ । कराएर त्यो मानिसलाई बोलाउन सकिरहेको छैन । घाँटी घ्यारघ्यार गरिरहेछ । बडो मुस्किलले एक हात उचालेर इसाराले बोलाउन खोजेँ । हात उचालिएन । केही भएन । न हात उचालियो न आवाज नै आयो । 

मानिस त्यहीँबाट फनक्क फर्केर जताबाट आएको थियो उतै फर्कियो । म ऊ गएको हेरिरहेँ । ऊ आएभन्दा बढी छिटो गतिले फर्कियो । के हो, के हो ? मानिस त हो भन्यो होला मनमनै । कसैले मारेर फालेको पो हो कि ? अचेल अपराध बढिरहेछ । सयपचासका लागि हत्या भएको हुन सक्छ । कोही बिहानै दारुले धुत् भएर बिच सडकमा बेहोस भएर लडिरहेको हो कि ? दसैँ हो । यताबाट जाने बस लरीले किचेर मरिसकेको पो छ कि ? समय खराब छ भाइ, फर्की । जताबाट आएको होस् उतै । बाटाहरू धेरै छन् । अर्को बाटो लाग् भन्ने सोच्यो होला उसले । 

जे जे सोचोस्, म त बिच सडकमा पल्टेको छु । सडक चिसो छ धन्न । मध्याह्नतिर सडक तातेर टेकिनसक्नु हुन्छ । अब कोही आएन र म मध्याह्नसम्म यसरी सडकमै पल्टिराखँे भने म पापड पोलिए झैं पोलिने छु तर त्यसो नहोला । कोही दयालु त होला । केही नभए गस्तीमा निस्केको प्रहरीको भ्यान त देखिएला । प्रहरीले केले यसरी ठक्कर दिएको भनेर सोधेछ भने म भनूँला, बाइकले । उनीहरूले सोध्लान्, बाइकको नम्बर नोट गर्नुभो ? तब के भन्ने ? त्यो त गर्न सकिनँ । प्रहरी अलि कडा रहेछ भने भन्ला– नोट गर्न सकिनँ कि नोट गर्ने होस भएन ? 

सोधाइमा एउटा हाँक पनि छ, नोट गर्न सकिएन कि भन्नेमा । मलाई अहिले नै अलि जोस आइरहेछ । दुर्घटनामा परेकोलाई त्यसरी जोस्याउने हो त ? तर यसको पनि मसँग तयार जवाफ छ । भन्ने छु– ठक्कर देला भन्ने के थाहा ? लडेपछि होसै भएन । बाइक स्टार्ट गरेर कुदिहाल्यो । यी सबै प्रश्नोत्तरभन्दा पहिले प्रहरीसँग भेट त होस् अर्थात् प्रहरीको गस्ती भ्यानले मलाई भेटोस् त, उठाएर अस्पताल लगोस् त । अनि इमर्जेन्सीको बेडमा सुताएर प्राथमिक उपचारपछि सोधपुछ गरोस् । अनि बल्ल म जवाफ दिनेछु । अहिले नै मनमा तर्कवितर्क गरेर सडकमै पल्टिबस्नुको के अर्थ ? 

उठ्ने प्रयास गरिहेर्न मलाई अन्तरआत्माले घचघच्याइरहेछ । आत्माले पनि चोट खाएको छ । पहिलो साइकलवालाले चोट दिएर गयो, मानवतालाई पिठिउँ देखाएर । दोस्रो टाढैबाट म के भएर सडकमा पल्टेको छु भन्ने निक्र्योल गर्न नसकेकाले उल्टो दिशा अर्थात् जताबाट आएको हो उतै फर्केर । सङ्कटमा मानिसले धैर्य नगुमाउनु भन्छन् । भन्नेलाई त सजिलो छ– जसलाई पर्छ उसैले बेहोर्छ । अर्कालाई दोष दिनु छैन । भाग्य भन्नु पनि केही होला । नत्र म यसरी बिच सडकमा पल्टेर सहायताको प्रतीक्षामा हुने थिइनँ । 

उताबाट कोही आइरहेछ । मनिर थामिएर एक्कासि भनेको छ, “को हो तपाईं हँ ?”

म को हुँ हँ ? यस प्रश्नको जवाफ दिन सक्ने अवस्थामा म थिइनँ । टाउको मात्र थोरै हल्लाएछु । यहाँबाट अस्पताल पनि टाढा छ । कसरी लैजाने ? निकै मेहनत पर्ने देखियो । ऊ बजारतिरबाट फर्के जस्तो लाग्यो । कसले ठक्कर दिएछ । गाडीले भए त कच्याककुचुक पार्ने थियो । सानै वाहनले होला । म सुनिरहेछु, कान थापेर । कानले सुन्न सक्ने रहेछ । अलि आस पनि भयो, म बाँच्न सक्छु । समयमा उपचार चाहियो । 

मैले यी सब कुरा मेरो छेउमा उभिएर मलाई हेरिरहेको मानिसलाई भन्न सकिरहेको छैन । मुख सुकेको छ । जिब्रो चल्न मानिरहेको छैन । यसो हात चलेको जस्तो लाग्यो । धेरै बेर भएछ । रगत बगिरहेको छ कि ? अत्यधिक रक्तस्राव भएर मृत्यु भएको हुन सक्छ बुढा मान्छेको– यस्तो अनुमान लगाउन बेर लाग्ने छैन । मरेपछि के थाहा तर प्राण कायम छ । प्राण जान कति बेर लाग्छ ? अनुभव त छैन । एक पटक मरेपछि फेरि दोहोर्‍याएर मर्न पाइन्न । यस्तो सोचेर म केही हाँस्ने चेष्टामा हुन्छु तर घाइते छु । हाँस्न उचित छैन र सकिरहेको पनि छैन । हाँस्ने चेष्टाले कता कता दुखाएको पनि छ । 

एउटा जिप आएको छ । मेरो छेउ उभिएको मानिसले भनेको घुइरो घुइरो सुनेको छु, “यिनलाई अस्पताल त पुर्‍याऊँ । लागेको म बेहोरूँला ।” पछि थाहा भयो, गाडीवालले एक पैसो लिएन र मलाई सहयोग गर्नेले पनि पैसो लिएनछ– गाडीवालाले यति लियो भनेर । पछि म डिस्चार्ज हुनुभन्दा अघि र डिस्चार्जको समयमा त्यो मानिसलाई मैले कति खोजेँ, खोज्न लगाएँ तर कतै भेटिएन । उसले गोप्य दान जस्तो सहयोग गरेको रहेछ– दान दिनू बिर्सनू । यहाँ सहयोग गर्नू बिर्सनू देखियो ।     

मलाई लाग्ने नै भयो, अलिकति कता कता ठोस इमानदारिता बचेको छ र मानवता पनि । यो सोचले मलाई अस्पतालको बेडमा पनि थोरै आश्वस्त पार्‍यो । कुनै दिन यस्तै दुर्घटनामा परेको व्यक्ति वा व्यक्तिहरूलाई उद्धारमा सहयोग गर्न पाइयोस् भनेर मनमनै प्रार्थना गरेँ । तर अरूको खल्तीको पैसा सडकछेउ खसेको भेट्टाइयोस् भन्ने कामना गर्नु जस्तै अरू पनि मै जसरी दुर्घनामा परून् भन्नु पाप हुने थियो ।  एक किसिमले यो पनि भयो– मलाई बचाउनेलाई हेरेर धर्म छ भन्न सकिन्थ्यो र मानवता पनि नत्र मैले त मानवता र धर्म संसारमा रहेनन् भन्ने निश्चय गरिसकेको थिएँ । मैले यसो भनूँ, म जस्तो दुर्घटनामा कोही नपरून् । अन्त्य यो भएको थियो, म फेरि घर फर्कें । मेरो खल्तीमा नातिका लागि प्रशस्त चकलेट र टफी थिए । मैले अस्पतालकै बेडबाट छोरोलाई फोनबाट मेरो एक्सिडेन्टको खबर गरेको थिएँ । मेरो खल्तीको मोबाइल सुरक्षित रहेछ । 

छोरो हस्याङफस्याङ गर्दै अस्पतालमा आयो र मेरो बेडको छेउमा उभिएर भन्यो, “बाबा, यो के गरेको ?” मलाई टाउकामा छ टाँका लागेको थियो, दायाँ खुट्टामा प्लास्टर चढेको थियो । भोलिपर्सि म डिस्चार्ज हुनेवाला थिएँ । छोराको प्रश्नले मलाई असमञ्जसमा पार्‍यो । छोरो हो, मैले के भनूँ ? मै जस्तो बुढा हुनतिर लागिरहेछ । उमेर खाएपछि बिहे भएको थियो उसको । नाति ढिलै भएको हो । बेला बेला आफैँ भन्थ्यो, “ढिलो गरेको हुनाले छोरो भएको हो ।” उसले ढिलो हुनु छोरै हुनुलाई बङ्ग्याएर त्यसो भन्थ्यो । 

मैले भनेँ, “छोरा तैँले यो के भनेको ? मैले गरेर हो कि एक्सिडेन्टले हो । बुढो भइसकिस् अझ बाउसित बोल्ने ढङ्ग छैन ।” उसले पश्चात्तापको स्वरमा भन्यो, “ओ सरी ड्याडी, म तपाईंको छोरो हुँ । जे भयो सो भयो । तपाईं अहिले सुरक्षित हुनुहुन्छ ।”  अस्पतालबाट डिस्चार्ज भएर घरभित्र पस्दा पहिले त नातिले मलाई अपरिचितलाई झैं हे¥यो । म बैसाखीमा थिएँ । टाउकामा टोपी थिएन । पछि चिन्यो । बाबा भन्दै छेउमा आयो । छोरोले हातले नातिलाई पन्छाएर भन्यो, “बाबालाई झी भा’छ ।” तर मैले उसका लागि ल्याएको चकलेट र टफी खल्तीबाट झिकेर थमाउँदै भनेँ, “बाबालाई सन्चै छ । तिमीलाई नि ?” उसले मेरो मुखतिर हेरेर मुस्कान दियो । मलाई लाग्यो, जीवन अझैं चलायमान छ ।  

  

Author

भाउपन्थी