• १० मंसिर २०८१, सोमबार

यु–१९ महिलाले तय गरेको विश्वकप यात्रा

blog

यु–१९ महिला टोली । फाइल तस्बिर

काठमाडौँ, कात्तिक २९ गते । नेपाली महिला क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको १८ वर्ष भएको छ । नेपाल सन् २००७ मा मलेसियामा भएको एसीसी च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय मैदानमा प्रवेश गरेको थियो । 

नेपालको सिनियर महिला टोली एसिया कपमाथि जान सकेको छैन । तर, नेपालको यु–१९ महिला टोलीले  संयुक्त अरब इमिरेट्स (युएई) लाई उसैको मैदानमा स्तब्ध बनाउँदै सन् २०२५ मा मलेसियामा आयोजना हुने विश्वकपमा स्थान बनाएको छ ।

संयोगवश मलेसियाबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको नेपाली महिला खेलाडीले मलेसियामै उमेर समूहको विश्वकपमा डेब्यु गर्नेछन् । 

नेपालको कुनै पनि महिला क्रिकेट टोलीले पहिलो पटक विश्वकप खेल्न लागेको हो । यसअघि पुरुषको यु–१९ टोलीले आठ र सिनियर टोलीले दुई पटक टी–२० विश्वकपको यात्रा तय गरिसकेको छ ।

असम्भव जस्तै मानिएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराएपछि नेपाली युवा महिला टोलीको चर्चा चुलिएको हो । कमजोर लगानी र अपर्याप्त भौतिक संरचनाबिच महिला खेलाडीको प्रदर्शनले विश्व क्रिकेटको ध्यान नेपालतर्फ खिचेको छ । 

सिनियर पुरुष, महिलाको होस् या जुनियरको । नेपाललाई एसिया कप र विश्वकपको यात्रामा पुग्न प्राय संस्करणमा युएई वाधक बन्दै आएको हुन्छ ।यसअघि पहिलो संस्करणमा युएईले नेपाली यु–१९ महिला टोलीलाई स्तब्ध पार्दै पहिलो संस्करण खेल्नबाट वञ्चित  गराएको थियो ।

यस पटकको समीकरण पनि त्यस्तै बनेको थियो । अन्तिम खेलमा फराकिलो अन्तरसहित युएईलाई हराएर रन रेटमा सफल बन्नुपर्ने चुनौतीलाई नेपाली चेलीले साकार बनाएर छाडेका छन् । 

दबाबपूर्ण खेलमा जितका लागि ८४ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । जितसँगै ६ खेलबाट १० अङ्क बनाएको नेपाल शीर्षस्थानमा रह्यो । समान १० अङ्क बनाएको युएई रन रेटमा पछि परेको हो । नेपाललाई विश्वकपमा स्थान बनाउन युएईलाई १६.२ ओभरमै हराउनु पर्ने बाध्यता थियो । जसमा नेपालले चमत्कारपूर्ण सफलता भेट्टायो । 

आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी डबल लिगको छनोट खेलमा युएई अघिल्ला पाँच खेलमा विजयी भएको थियो । युएईले कुवेतलाई १०६ र १८४ रन, थाइल्यान्डलाई ७४ रन र नौ विकेट तथा नेपाललाई १३ रनले हराएको थियो । 


नेपालले अघिल्ला खेलमा कुवेतलाई १०८ र १६५ तथा थाइल्यान्डलाई ६७ र १०६ रनले हराएको थियो । नेपालले अन्तिम खेलमा युएईसँग अघिल्लो खेलमा हारेको बदलासमेत लिएको छ । यु–१९ महिला विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ । जसमा नेपालले अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्डसम्मिलित समूह ‘डी’ बाट प्रतिस्पर्धा गर्नेछ ।

छनोट खेलमा नेपालकी पूजा महतोको कप्तानी महत्त्वपूर्ण रह्यो । कुवेतविरुद्धको पाँचौँ खेलमा पूजाले कीर्तिमानी अविजित एक सय ३० रनको शतकीय पारी खेल्नुभयो ।विश्वकप छनोट प्रतियोगिताले दोस्रो संस्करण पुरा गर्दा पूजाको यो ऐतिहासिक पहिलो शतक पनि थियो । 

कुवेतलाई ४८ रनमा अलआउट गर्दै एकसय ६५ रनको जित निकाल्ने क्रममा पूजा एक्लैले पाँच विकेट लिनुभएको थियो । युएईमा सानदार प्रदर्शन गर्दै विश्वकपको ढोका खोलेको नेपालले तेस्रो संस्करणको छनोट खेल भने खेल्नुपर्ने छैन । 

किनकि सन् २०२७ मा तेस्रो संस्करणको यु–१९ महिला विश्वकप नेपाल र बङ्गलादेशले संयुक्त रूपमा आयोजना गर्दैछन् । आयोजक देशको हिसाबले नेपाल स्वतः छनोट हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले भने विश्वकप आयोजनाको लागि अहिले देखिनै तयारीमा जुटेको छ । 

एसियाकप पनि खेल्दै 

नेपाली यु–१९ महिला क्रिकेट टोलीले आगामी डिसेम्बरमा मलेसियामा हुने एसीसी यु–१९ महिला एसिया कप पनि खेल्ने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको तालिका अनुसार एसिया कप डिसेम्बर १५ देखि २२ तारिखसम्म हुनेछ ।

६ टोलीको सहभागिता रहने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । यस्तै समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र आयोजक मलेसिया रहेको छ । नेपालले डिसेम्बर १६ मा पाकिस्तानसँग खेल्दै एसिया कपको सुरुवात गर्नेछ । एसिया कप विश्वकपका लागि राम्रो ‘एक्पोजर’ हुनेछ । 

क्यानद्वारा नगद पुरस्कार घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक यु–१९ महिला विश्वकपमा स्थान बनाएको नेपाली महिला क्रिकेट टोलीलाई नगद पुरस्कारको घोषणा गरेको छ ।

क्यानले बिहीबार टोलीका खेलाडीलाई जनही दुई लाख ५० हजार र टोलीमा समावेश अफिसियललाई जनही एक लाख ५० हजार रुपियाँ पुरस्कार दिने घोषणा गरेको हो । 

नेपाली यु–१९ महिला टोली बिहीबार (आजै) साँझ नेपाल आउने पनि क्यानले जनाएको छ ।