• ७ मंसिर २०८१, शुक्रबार

चिहान एकीकृत गरिएको ठाउँमा स्मृति पार्क बन्दै

blog

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक २९ गते । झापाको कमल गाउँपालिका वडा नं. ५ मा निर्माणाधीन आदिवासी रङ्गशाला परिसरमा स्मृति पार्क निर्माणको काम फेरि अघि बढेको छ । १५ वर्षअघि शिलान्यास भएको आदिवासी रङ्गशाला तथा स्मृति पार्क नामको विषयमा विवाद हुँदा र पर्याप्त बजेट विनियोजन नभएका कारण सुस्त गतिमा निर्माणाधीन छ ।

कमल गाउँपालिका अध्यक्ष तथा आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठान अध्यक्ष हुकुमसिंह राईका अनुसार आदिवासी रङ्गशाला तथा स्मृति पार्क बनाउन भनेर यहाँका चिहानहरू हटाइएको र एकीकृत गरिएका चिहानहरूको सम्झनामा स्मृति पार्क बनाउन सुरु गरिएको थियो ।

कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षका लागि २५ लाख रुपियाँ बजेट विनियोजन गरिएको र त्यसबाट स्मृति पार्कको काम गर्न मन्त्रालयका इन्जिनियर नवीन भट्टराईसहितको टोलीले स्थलगत अवलोकन गरेर काम अघि बढाउने तयारी गरेको राईले जानकारी दिनु भयो ।

आदिवासी रङ्गशालामा रहेको स्मृति पार्कमा चिहान उत्खननपछि संयुक्त हाडखोरहरु दफन गरिएको थियो । २०६७ मा  अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने योजनासहित नौ सय आदिवासी जनजातिको चिहान भत्काएर एकीकृत गरिएको भए पनि काम अघि नबढ्दा बारम्बार विवाद सिर्जना हुने गरेको थियो । 

चिहान एकीकृत गरिएको ठाउँमा एक दशक अघि नै स्मृति स्तम्भ निर्माण सुरु भएको थियो । स्तम्भ बनाउन बाहेक अन्य काम अघि बढेको थिएन । अब काम अघि बढ्छ भन्ने विश्वास लिएका छौ, अध्यक्ष राईले भन्नुभयो । सङ्घीय सरकार र प्रदेश सरकारले नै नीति तथा कार्यक्रम र बजेटमा यो योजना समावेश गरेका छन् ।

२०७२ सालमा आदिवासी रङ्गशालाको नाम परिवर्तन गरेर मदन भण्डारी रङ्गशाला बनाउने भनिएपछि यहाँका आदिवासी समुदायले विरोध गरेका थिए । पछिल्लो समयमा मदन भण्डारी रङ्गशाला दमकमा बनाउने निर्णय भएको र यसलाई आदिवासी रङ्गशालाकै रूपमा अघि बढाउने भएपछि विवाद साम्य भएको छ ।