• १९ पुस २०८१, शुक्रबार

लुम्बिनी प्रादेशिक अस्पताल

एमआरआई मेसिन किन्न पन्ध्र करोड

blog

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ।

बुटवल समाचारदाता  

बुटवल, कात्तिक २८ गते । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि आवश्यक एमआरआई मेसिन खरिदका लागि १५ करोड रुपियाँ उपलब्ध गराएको छ । प्रदेश सरकारले एमआरआई मेसिन खरिदका लागि रकम उपलब्ध गराएपछि लुम्बिनी प्रादेशिक अस्पतालले टेन्डरमार्फत खरिद प्रक्रिया अघि बढाएको छ । 

बुटवलमा एमआरआई मेसिन स्थापनाका लागि चार वर्षदेखि हुँदै आएको प्रयास यो वर्ष पनि असफल हुने चिन्ता थपिएको छ । मेसिन खरिदका लागि बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढिसकेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा गलत ढङ्गका प्रचारबाजी भएपछि उक्त योजना यस पटक पनि तुहिने हो कि भन्ने चिन्ता थपिएको अस्पतालले जनाएको छ । 

एमआरआई मेसिन खरिदका लागि टेन्डर आह्वान गरिएपछि आएका विभिन्न हल्ला तथा भ्रमबारे स्पष्ट पार्न अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरी ती हल्लाको खण्डन गरेको छ । अस्पतालले मेसिन खरिदका लागि यही कात्तिक १ गते बोलपत्र आह्वान गरेको थियो । 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले ‘एनसिबी’ अर्थात नेसनल कम्पिटेटिभ बिडिङ अनुसार आह्वान गरिएको बोलपत्रमा अधिकतम मूल्य १५ करोड राखिएकोमा सोही मूल्यमै सामान खरिद गरिएको जस्तै गरी गलत प्रचार भएको गुनासो गर्नुभयो । 

डा. ढकालका अनुसार बोलपत्रमा उल्लेख गरिएको रकममा सप्लायर्स कम्पनीले प्रतिस्पर्धा गर्दा सबैभन्दा कम मूल्य कबोल गर्ने कम्पनी छनोट भई उसैले खरिद गर्ने प्रावधान छ । उहाँले भन्नुभयो, “सामान्यतया कम्पनीले २०/२५ प्रतिशतसम्म कम मूल्यमा कबोल गर्ने प्रचलन रहेको हुँदा हामीले खरिद गर्न लागेको मेसिनको मूल्य पनि कम हुने अनुमान गरेका छौँ तर बजारमा गलत हल्ला बढी भयो ।” 

बजारमा फैलाइएको हल्ला जस्तो अस्पतालले पुरानो मेसिन खरिद गर्ने नभई विश्व बजारमा हाल आएका भन्दा केही पुरानो प्रविधि भएको उहाँको भनाइ छ । प्रदेश सरकारले उपलब्ध गराएको १५ करोड बजेटबाट नयाँ प्रविधिको मेसिन खरिद गर्न सम्भव नभएकै कारण पुरानो प्रविधिको मेसिन खरिद गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । 

बजारमा नयाँ एमआरआई मेसिनलाई २५ देखि ३० करोड रुपियाँसम्म पर्ने भएकाले प्रदेश सरकारले उपलब्ध गराएको १५ करोड रुपियाँभित्रै सीमित रहेर मेसिन खरिद गर्ने अस्पतालको भनाइ छ ।