• १९ पुस २०८१, शुक्रबार

उपनिर्वाचन : कर्णालीमा ४२ हजारभन्दा बढी मतदाता सहभागी हुँदै

blog

भेरीगङ्गा (सुर्खेत), कात्तिक २८ गते । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा कर्णालीका आठ पालिकामा ४२ हजार बढी मतदाताले भाग लिँदैछन् ।

निर्वाचन आयोगले गरेको मतदाता अध्यावधिक विवरणअनुसार उपनिर्वाचन हुन लागेका कर्णालीका छ जिल्लाका आठ पदमा हुने निर्वाचनमा ४२ हजार दुई सय ७७ मतदाताले मतदान गर्ने छन् ।

कर्णालीमा एक गाउँपालिका र नगरपालिकामा एक/एक अध्यक्ष, एक नगरपालिका र गाउँपालिकामा एक/एक उपप्रमुख र उपाध्यक्ष र पाँच वडाध्यक्ष गरी आठ पदका लागि उपनिर्वाचन हुँदैछ ।

अध्यावधिक विवरणअनुसार अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको दैलेखको महाबु गाउँपालिकामा १२ हजार छ सय १४ जनाले निर्वाचनमा भाग लिँदैछन् । यस पालिकामा नौवटा निर्वाचन केन्द्र छन् ।

यस्तै, दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । त्यहाँ दुई हजार सात सय छ मतदाता रहेका निर्वाचन कार्यालय दैलेखका सूचना अधिकारी मनोज थापाले जानकारी दिनुभयो ।

यस्तै, जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निर्वाचन अधिकारी रामलाल प्याकुरेलका अनुसार नलगाड नगरपालिका उपप्रमुख पदका लागि हुने उपनिर्वाचनमा १६ हजार चार सय ४९ जनाले मतदानमा भाग लिनेछन् । जाजरकोटकै कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदको उपनिर्वाचनमा एक हजार तीन सय दुई जनाले मतदाताले भाग लिनेछन् ।

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि पनि निर्वाचन हुन लागेको छ । त्यहाँ छ हजार आठ सय १० मतदाता छन् भने रुकुमपश्चिमको सानीभेरी गाउँपालिका—५ को अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा एक हजार चार सय ३४ जनाले भाग लिने मतदाता अद्यावधिक विवरणमा जनाइएको छ ।

यस्तै कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदको लागिसमेत निर्वाचन हुँदैछ । त्यहाँ छ सय नौ मतदाता रहेको कालीकोट जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले जानकारी दिनुभयो । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को अध्यक्षको निर्वाचनमा तीन सय ५३ जना मतदाताले मतदानमा भाग लिनेछन् ।

विसं २०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । रासस