• ७ मंसिर २०८१, शुक्रबार

गान्धी मनमोहन मार्ग अलपत्र

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी,  कात्तिक २१ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी शनिश्चरे–१० शिविरडाँडाबाट शनिश्चरे बजार– गान्धी आश्रम–टकुवा हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग पाँच वर्षदेखि लथालिङ्ग छ । 

हिउँदमा धुलो र वर्षायाममा हिलो सहनु यहाँका यात्रुको दैनिकी जस्तै भएको छ । २०८० सालको भदौ मसान्तमा कालोपत्रे गरिसक्नुपर्ने सडक तोकिएको मिति सकिएको १४ महिना बितिसक्दा पनि ४० प्रतिशत मात्र काम भएको निर्माण कम्पनीले जनाएको छ । लामो समयसम्म सडक कालोपत्रे नभएको भन्दै स्थानीय उपभोक्ताले पटक पटक ठाउँमा अवरुद्ध गरेको यो सडकले पूर्वपश्चिम राजमार्गसँग विराटनगर –रङ्गेली–आमबारी सडकलाई जोड्छ । सङ्घीय सरकारको हुलाकी सडक आयोजना इटहरीमार्फत २०७७ सालमा ठेक्का लागेको सडक कान्छाराम कन्स्ट्रक्सनले एक अर्ब ९४ करोड ९४ लाख रुपियाँमा ठेक्का प्राप्त गरेको हो । त्यतिबेला सडक जिल्लाकै नमुना सडकका रूपमा निर्माण हुने बताइएको थियो । दुवैतर्फ नालासहित ६० फिटको  सडकमा  २४ फिट कालोपत्रे र बाँकी भाग साइकल र पैदलपथ निर्माण गर्ने योजना थियोे तर आधा पनि काम नगरी निर्माण कम्पनीले काम गर्न छोडेपछि स्थानीयको दुर्दशा सुरु भएको छ । 

 पथरी शनिश्चरे–९ को महेन्द्रचौकका ८० वर्षीय छविन्द्रमानसिंह कार्कीले भन्नुभयो, “सडकको चौडाइ बढाउने भनेपछि ७६० फिट मुख रहेको जग्गाको झन्डै पाँच कट्ठा दिएँ । तर चार वर्ष पूरा भयो । सडक बनेको छैन । सडकनजिकैका घरमा मात्र होइन, कोठा चोटासमेत धुलाम्मे भएको अर्की पीडित उपभोक्ता रमा दाहालले बताउनुभयो । 

सुनवर्षी–४, गोलगाउँका चन्द्रप्रसाद राजवंशीले भन्नुभयो, “नम्बरी जग्गाबाट बाटो दिएको पाँच वर्ष हुन लाग्यो ।  सुनवर्षी नगरपालिका खण्डमा पथरी क्षेत्रमा जति पनि काम नभएको राजवंशीको भनाइ छ ।” सुनवर्षी–६, टकुवाका महेन्द्रप्रसाद केवरतले भन्नुभयो, “दुई महिना काम ग¥यो भने पाँच महिना हराउँछन् ।” सडकको मापदण्ड कायम नगरिदिँदा निर्माणको काम गर्न नपाएको पवननारायण राजवंशीले बताउनुभयो । राजवंशीले तीन वटा सटरसहितको घर बनाउन सुरु गरे पनि सम्पन्न गर्न सक्नु भएको छैन । बेला बेलामा आएर सडकको सिमाना पूर्वपश्चिम सारिरहँदा समस्या भएको राजवंशीले बताउनुभयो । यता निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनका निर्देशक दीपक थिङले सरकारले समयमा पैसा नदिएकाले काम अगाडि नबढेको बताउनुभयो ।