• ९ मंसिर २०८१, आइतबार

‘जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नु पर्छ’

blog

लहान समाचारदाता

लहान, कात्तिक २१ गते । सङ्घीय सरकारका पूर्वकानुन तथा संसदीय व्यवस्था मामिलामन्त्री सिराहा–३ का सांसद तथा नेकपा (एमाले) मधेश प्रदेशका इन्चार्ज लीलानाथ श्रेष्ठले निर्वाचनको समयमा जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभएको छ । उहाँले काम गर्ने प्रतिनिधिले जनताको माया पाइरहने पनि बताउनुभएको छ । 

छठ पर्वका अवसरमा भगवानपुर गाउँपालिकामा सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जनताको काम नगर्ने गफ ठुलो गर्ने जनप्रतिनिधिको भविष्य नरहेकाले चुनावमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नेता श्रेष्ठले नेता कार्यकर्तासँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सिराहामा १७ स्थानीय तहमध्ये नौ वटा पालिका नेकपा एमाले जितेर पहिलो पार्टी बनेको छ । जितेका पालिकामा भएका कामको मूल्याङ्कन गर्ने बेला हुनै लागेको छ । गफ कम काम बढी गर्नुको विकल्प छैन । शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा भएका काम आफैँ बोलिरहेको छ । हरेक जनता सचेत र डिजिटलबाट जोडिएकाले कसले के गरिरहेको सूचना राख्न थालेका छन् ।”

कार्यक्रममा सङ्घीय सांसद तथा नेकपा एमाले सिराहा इन्चार्ज गङ्गाप्रसाद यादवले अब राजनीति परिवर्तनलाई टिकाउन विकासको कार्यमा जुट्न आवश्यक रहेको बताउनुभयो । उहाँले थप्नुभयो, “विकाससँगै सुशासनको प्रत्याभूति दिलाउन भ्रष्टाचार र बेथितिको अन्त्य गर्न नेता कार्यकर्ताले अभियान नै चलाउनु जरुरी छ ।” 

कार्यक्रममा सङ्घीय सांसद रामशङ्कर यादव, धनगडीमाई नगरपालिकाका नगरप्रमुख शिवशङ्कर महतो, सिराहा नगरपालिका प्रमुख नवीनकुमार यादव, भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादव, मधेश प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरीलगायतका जनप्रतिनिधिले पार्टीले दिएको निर्देशन अनुसार जनताको काम इमानदारीपूर्वक गरिने कतै कमी कमजोरी भए त्यसलाई समेत सुधार्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।