• ७ मंसिर २०८१, शुक्रबार

तिलिचो पुग्दा चाडपर्व बिर्सन्छन् नेपाली

blog

अन्नपूर्ण क्षेत्र घुम्न आएका पर्यटक ।

यदुप्रसाद भट्ट

मनाङ, कात्तिक २० गते । शरद ऋतुमा चक्रीय अन्नपूर्ण क्षेत्र पर्यटकका लागि घुमफिर गर्ने उत्तम समय हो । अहिले धेरैको रोजाइमा मनाङ पर्ने गरेको छ । मनाङ घुम्ने र विश्वको अग्लो स्थानमा रहेको ताल तिलिचो पुग्ने रहर सबै नेपालीलाई हुने गरेको छ । 

यस्ता चाहना बोकेका नेपाली पर्यटकले चाडपर्व नै नभनी घुमफिरमा समय बिताउने क्रम बढ्दै गएको छ । पर्यटनलाई मुख्य पेसा व्यवसाय बनाउनेका लागि भने के दसैँ के तिहार सधैँ घुमफिर गर्नुपर्ने बाध्यता छ । दसैँतिहारमा गाउँ जानुको सट्टा आम्दानी हुने भएकाले धेरै पथप्रदर्शक युवाको रोजाइमा पनि पर्यटन क्षेत्र परेको हो । 

सुदर्शन देवकोटा काठमाडौँदेखि १७ जना विदेशीको टोली लिएर मनाङका विभिन्न स्थानमा प्रस्थान गर्नुभयो । प्राकृतिक सुन्दरताको आनन्द लिँदै हिमालको दृश्यावलोकन गर्न देवकोटाको टोली मनाङ घुम्न आएको हो । देवकोटाले भन्नुभयो, “पेसाले म पथप्रदर्शक हुँ, पर्यटकीय समय सुरु भएका बेला मौसमले पनि साथ दिएकाले मनाङको तिलिचोलगायतका क्षेत्रमा पर्यटकलाई घुमाउन आएको हुँ ।” उहाँले एक महिनाअघि स्वदेशी तथा विदेशी गरी करिब ६० जनाको समूहलाई मानसरोवर लिएर गएको बताउनुभयो । मानसरोवरको तुलनामा मनाङनजिक तथा थोरै समय लाग्ने र सजिलो पनि हुने उहाँको भनाइ छ । 

देवकोटाको यो सिजनमा अधिक समय घुमफिरमै बित्ने गरेको छ । स्नातक सकेपछि पर्यटन क्षेत्रमा लागेको उहाँको भनाइ छ । देवकोटाले यस क्षेत्रमा लाग्दा चाडपर्व सबै बिर्सिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्व र मुख्य पर्यटकीय समय एकै पटक पर्छ, रोजीरोटीको व्यवस्था गर्नै प¥यो, यतिबेला नकमाए अफ सिजनमा कहाँबाट खर्च धान्ने भन्ने चिन्ता हुन्छ ।” उहाँले हरेक वर्ष चाडपर्व हिमालमै हुने गरेको बताउनुभयो ।

अर्का पर्यटन व्यवसायी गोविन्द पाठकले हरेक वर्ष दसैँतिहारमा हिमालतिरै बिताउने गरेको बताउनुभयो । पाठकले दसैँ फूलपातीका दिनमा एक टोली लिएर लमजुङको सदरमुकाम बेँसीसहर हुँदै मनाङको सदरमुकाम चामे पुगेको र सोही टोलीसँग दसैँ बितेको बताउनुभयो । उहाँले भन्नुभयो, “अझ मेरो त मुख्य दसैँको दिन तिलिचोमै बित्यो ।”

गत वर्ष असोजमा तिलिचो तालमा वाइफाई जडान भएपछि सो क्षेत्र घुम्न आन्तरिक र बाह्य दुवै पर्यटकको पहिलो रोजाइ भएको छ । चाडपर्वका समयमा बाह्य पर्यटकको चहलपहल बढी भएको पर्यटन व्यवसायी एवं होटेल याक एन्ड यतीका सञ्चालक विनोद गुरुङले बताउनुभयो । बाह्य पर्यटकको चाप तिलिचोमा परेकाले आफूहरू उत्साहित भएको गुरुङले बताउनुभयो । 

मनाङ प्रवेशद्वारका रूपमा रहेको च्याम्चेबाट हिजोआज दैनिक दुई सयका हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको चामेका होटेल व्यवसायी फुर्वा लामाले बताउनुभयो । लामाले भन्नुभयो, “हिजोआज चाडपर्व नभनी आन्तरिक पर्यटक हिमालमा रमाउने क्रम बढ्दै गएको छ, यसले हामी व्यवसायीलाई उत्साहित बनाएको छ । आन्तरिक पर्यटकलाई मनाङ प्रवेशमा कुनै पनि शुल्क नलाग्नुले पनि घुमफिरको संस्कृति बढेको उहाँको ठम्याइ छ ।