• १ माघ २०८१, मङ्गलबार

छठ पर्वको तयारी तीव्र

blog

छठका लागि राखिएका केरा । तस्बिर : जीवछ यादव

मधेश प्रदेश ब्युरो 

जनकपुर, कात्तिक २० गते । मधेश प्रदेशका जिल्लाहरूमा तिहार सकिएलगत्तै छठको तयारी सुरु भएको छ । लोकआस्थाको महापर्व छठका लागि नजिकका जलाशयको सरसफाइ र पूजाका लागि घाट निर्माण एवं आवश्यक सामग्रीको खरिदबिक्री गर्न व्यस्तता बढेको छ ।  

जनकपुरधाम समाचारदाताका अनुसार जनकपुरधामका पोखरीहरूमा छठ पर्वका लागि घाट निर्माण तीव्र रूपमा भइरहेको छ । दीपावली सकिएलगत्तै छठ पर्व सुरु हुने हुँदा घाट निर्माणलाई तीव्र पारिएको हो । घाट निर्माणमा कुनै त्रुटि हुन नदिन कतिपय पोखरीमा दीपावलीअघिदेखि नै घाट निर्माण भइरहेको छ ।

सूर्य उपासनाको यस पर्वमा पानीमा उभिएर उदाउँदो र अस्ताउँदो सूर्यदेवलाई अर्घ दिनका लागि जलाशयहरूलाई विशेष रूपमा सजाइन्छ । पोखरीको सजावटमा पोखरी वरपर बाँसका भाटाले तयारी पारिएका घाटमा रङ्गीचङ्गी कपडा, केराको बोट र झिलिमिली बत्तीले सजाइन्छ । जसमा छठ व्रतालुहरूले छठपूजाका सामग्री लस्करै सजाएर राख्ने गर्छन् । 

जनकपुरधाम उपमहानगरपालिकास्थित जानकी चोकस्थित अङ्गराज सागरमा विगत ४० वर्षदेखि छठ घाट व्यवस्थापन गर्दै आएको मिथिला समाज सेवा समितिका अनुसार घाट निर्माणमा कुनै हतार नहोस् भनेर घाट निर्माण लाई तीव्रता दिएका जनाएको छ । यस वर्ष गत वर्षभन्दा बढी सङ्ख्यामा व्रतालुहरूको सहभागिता रहने अनुमान गरिए अनुसार घाट निर्माण भइरहेको समितिले जनाएको छ । 

घाटमा भक्तजनको सङ्ख्या बढ्दै जाँदा व्यवस्थापन खर्च पनि बढ्छ । विगतका वर्षमा घाटको प्रयोग निःशुल्क रहे पनि विगत दुई वर्षदेखि शुल्क लिने गरेको समितिले जनाएको छ । व्यवस्थापन समितिका महासचिव रामकुमार पुर्वेले भन्नुभयो, “यस वर्ष घाट निर्माणमा छ लाख रुपियाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।” जसमा प्रथम वर्ष अढाई सय, दोस्रो वर्ष साढे तीन सय रुपियाँका दरले लिए पनि यस वर्ष पाँच सय रुपियाँ घाट शुल्क लिने महासचिव रामकुमार उहाँले बताउनुभयो ।

जनकपुरधामका बासिन्दाहरूले पनि पोखरीहरूमा घाट निर्माण र सरसफाइ कार्यमा सहयोग पु¥याइरहेको समितिका महासचिवले भन्नुभयो । जनकपुरधामस्थित गङ्गासागर, धनुषसागर, रतनसागरलगायतका विभिन्न पोखरीमा छठ घाट निर्माण हुने गर्दछ । पोखरी नहुनेहरूले नजिकैको नदी तथा खोलाका घाटमा गएर पूजा गर्ने गर्छन् । जनकपुरधामका पोखरीमा गरिने यो विशेष तयारीले यस क्षेत्रमा धार्मिक पर्यटन बढ्न सक्ने अपेक्षा पनि गरिएको छ । यस पर्वमा सहभागी हुन देशका विभिन्न भागबाट आउने भक्तजनले जनकपुरधामको अर्थतन्त्रमा पनि टेवा पु¥याउने विश्वास लिइएको छ ।

छठ पर्वको अवसरमा जनकपुरधाममा छठका मनमोहक दृश्य हेर्न जनकपुरधाम आसपासका गाउँ तथा जनकपुरधामबाहिरबाट पनि हजारौँ भक्तजनको आउने गर्छन् । 

सामग्री किन्नेको भिड 

सर्लाही समाचारदाताका अनुसार सर्लाहीका स्थानीय हाटबजारमा छठ पर्वमा प्रयोग हुने सरसामग्रीको किनबेच बढेको छ । जिल्ला सदरमुकाम मलङ्गवासहित लालबन्दी, नवलपुर, हरिवन, हरिपुर, बरहथवा, बयलबासलगायतका बजारमा छठमा प्रयोग गरिने सामग्रीको व्यापारमा वृद्धि भएको हो । छठ पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन् ।

विशेष गरी सन्तानको सुख, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रूपमा लिइन्छ । छठमा प्रसादका रूपमा केरा, फलफूल, पान, सुपारी, भान्टा, मुलालगायत किनमेलका लागि सर्लाहीसहित सम्पूर्ण तराई मधेशका प्रमुख बजारमा चहलपहल बढेको हो । 

लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ । तराईका जिल्लामा छठपूजाका लागि चाहिने सामग्रीसँगै हरिया तरकारी र फलफूल किन्नेहरूको पनि बजारमा उत्तिकै भिडभाड छ । खास गरी छठपूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, मुला, अदुवाको बोट पर्छन् । अहिले छठ पर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाइ गर्दै आफ्ना लागि पूजा स्थल सुरक्षित बनाउन थालेका छन् ।

सदरमुकाम मलङ्गवा निवासी नागरिक समाजमा अगुवा शिवचन्द्र चौधरीले छठ पर्वको रौनक सुरु भइसकेको बताउनुभयो । उहाँका अनुसार पर्व मनाउन विद्यार्थी र रोजगारीका लागि भारतलगायत अन्य सहरबजारमा गएका मानिस घर फर्किसकेका छन् । 

यहाँ छठ घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनको काम पनि धमाधम भइरहेका छन् । छठ पर्व नजिकिएकाले माटोका भाँडा र बाँसको चोयाबाट बनेका सामग्रीको माग बढेको छ ।  हरिपुर नगरपालिका–६, लक्ष्मीपुरका दिनेश डोमले छठका लागि बाँसका सामग्री बनाएर बिक्री गर्न भ्याइनभ्याइ रहेको बताउनुभयो । यहाँका मुख्य बजारमा अहिले दर्जनौँ स्थानमा बाँसबाट बनेका ढाकी, नाङ्लोलगायतका सामग्री बेच्न राखेको देखिन्छ । 

स्वागतद्वारदेखि घाट निर्माणमा तीव्रता

बर्दीबास समाचारदाताका यहाँका बजार र चोक स्थानीय उत्पादन र आयातित केराका पसलले ढाकिन थालेका छन् । ठाउँ ठाउँमा आकर्षक स्वागतद्वार निर्माण गरिँदै छ । यसअघि बजारदेखि सडक किनारासम्म देखिएका तिहारका पसलमा अब छठपूजाका सामग्री बाँसले बुनेका ढाकी, नाङ्लो, सुपली र माटाका घैली, ढकना, पालाले भरिन थालेका छन् । 

धेरै जसो ठाउँमा स्थानीय भक्तजनबाट स्वस्फूर्त रूपमा सङ्कलन भएका दान दातव्यबाट छठको तयारी गरिएको छ । कतिपय ठाउँमा भने स्थानीय सरकारको साथ सहयोगले छठपूजालाई भव्य र सभ्य बनाउने काम अघि बढाइएको छ । बर्दीबासको १, २ र १४ नं वडाको आधा दर्जन तलाउमा छठपूजाको तयारी सुरु गरिएको छ । 

बर्दीबासको वडा नं १४ स्थित कामेश्वरनाथ शिवालय नजिकको पुरानो तलाउको सरसफाइ र सौन्दर्यीकरणको कामले गति पाएको छ । यसका लागि छ लाख रुपियाँ खर्च हुने पूजा समितिको अनुमान छ । वडाध्यक्ष विजय महतोका अनुसार पोखरीको चार वटै किनारामा तीन सय वटा छठ घाट निर्माणको तयारी सुरु गरिएको छ । यस पटक मिथिला नाट्य परिषद्को प्रस्तुतिमा मिथिला संस्कृति र छठ पर्वको महत्व दर्साउने कार्यक्रम आयोजनाको तय गरिएको छ । यसका लागि एक लाख ७५ हजार रुपियाँ छुट्याइएको उहाँले बताउनुभयो । 

यो पटक व्रतको पारयणको दिन छठ पोखरी नजिकको शिवमन्दिर परिसरमा पहिलो पटक सामूहिक प्रसाद ग्रहणको तयारी गरिएको छ । यसका लागि पनि ५० हजार रुपियाँ खर्च हुने समितिको अनुमान छ । स्वागतद्वार, सरसफाइ, पोखरी सजावट र घाट निर्माणलगायतमा पनि तीन लाख रुपियाँ खर्च हुने जनाइएको छ  । अधिकांश आर्थिक स्रोत आपसी दान दातव्यबाट जुटाइएको छ । पूजाका लागि प्रतिघाट एक हजार सहयोग तोकिएको छ । यस तलाउमा सजाइएको तीन पूजा घाटबाट तीन लाख सहयोग पुग्ने वडा नं १४ छठपूजा समितिको आकलन छ ।  

त्यस्तै तीन वटा वडा रहेको बर्दीबासमा वडा नं १ को देउराली पोखरी, वडा नं २ को बुद्धचोक पोखरी र वडा नं १४ कै हमाललगायतका पोखरीमा पनि भक्तजनको सहयोग र सक्रयतामा छठ पर्वको तयारी सुरु गरिएको छ । यस्तै छठपूजाका लागि यसपालि पनि गौशाला नगरपालिकाको मडाहा खोलाको करिब तीन किमी जलाशय सजाउने कामलाई तीव्रता दिइएको छ । छठको अवसरमा महोत्तरीको १५ वटै पालिका पर्वको तयारीमा जुटेको छ । 

केराको मूल्य दोब्बर 

लहान समाचारदाताका अनुसार छठका लागि केरा गत वर्षको तुलनामा दोब्बर मूल्यमा खरिदबिक्री भइरहेको छ । छठ पर्वमा पाकेको केरा प्रसादका रूपमा चढाउन लहान बजारमा केरा खरिद गर्दै गर्दा गत वर्षको तुलनामा मूल्य दोब्बर भएको बताइएका छन् । लहान–१ की सुनिता गुप्ता भन्नुहुन्छ, “यति  महँगो केरा कहिले पनि किनेको थिएन । पाँच सयमा पाउने केराको घारी यस वर्ष एक हजार रुपियाँ तिर्नु परेको छ । 

केरा व्यापारी श्रीप्रसाद गुप्ता पहाडी जिल्ला र कोसी प्रदेशको मोरङ, धनकुटा सुनसरीबाट आउने केरा यस वर्ष केरा खरिद गर्न ती जिल्ला पुग्दा महँगोमा खरिद गर्नुपरेकाले  महँगोमा नै बिक्री गर्नु परेको  बताउनुहुन्छ । एक महिनाअघि आएको वर्षा र बाढीका कारण छठको समयमा पाक्नुपर्ने केरा एक महिनाअगाडि नै पाकेपछि छठमा माग अनुसारको केरा आउन नसकेकाले महँगो भएको अर्का व्यापारी फेकु यादवको भनाइ छ । दुई दिनअगाडि भारतीय बजारबाट आएको केराले बल्ल बजारमा केरा देखिन थालेको छ ।