• २७ पुस २०८१, शनिबार

हिमालको काखमा लोभलाग्दो चियाबारी

blog

माछापुच्छ्रे गाउँपालिका-८ ल्याङमा रहेको चियाबारी । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, कात्तिक १६ गते । 
अचेल चाडपर्व सो कि बिदाका दिन पोखरा आसपासका पर्यटकीय गाउँहरूमा आन्तरिक पर्यटकले भरिभराउ हुन्छ । पर्यटकीय मौसम सुरु भएकाले विदेशी पर्यटक पनि ती गाउँमा कोही पदयात्रा गर्दै त कोही ग्रामीण संस्कृति र प्रकृति हेर्न पुग्छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ मा रहेको ल्याङ गाउँ अहिले पर्यटकले भरिभराउ छ ।

त्यहाँको सामुदायिक होमस्टेमा बस्ने र बिहान चियाबारी र हिमाल हेर्ने बाक्लै देखिन्छन् । गाउँको सिरानमा रहेको चियाबारीबाट माछापुच्छ्रेसहितका हिमालहरू नजिकै देखिन्छन् । चियाबारीमा भाग्यमानी पाहुनाले दौडिँदै गरेका मृगहरू पनि देख्न पाउँछन् । बेला बेलामा हिमाल र सुन्दर दृश्य नियाल्न प्याराग्लाइडिङ गर्दै गरेकाहरू पनि चियाबारीमाथि देखिन्छन् ।


यहाँ चैत, वैशाखमा पुगेहरुले गुराँस र हिमालसँगै बसेर तस्बिर खिच्न पाउँछन् । अन्नपूर्ण आधार शिविर र मर्दी हिमाल टेक जानेहरू पनि पुग्छन् । नजिकै रहेको ल्वाङ सामुदायिक होमस्टेमा बेलुकाको खाना, बास र बिहानको खानाको प्रतिव्यक्ति १२ सय पर्छ । ३६ घर घरका होमस्टेमा सात/आठ सय पाहुना राख्न सक्छ ल्वाङले । 

नेपालको पहाडी भागको जलवायु उच्च स्तरको अर्थाेडक्स चियाका लागि उपयुक्त मानिन्छ । यो नेपाल प्रमुख निर्यातजन्य उपज हो । नेपालमा चिनिया र आसामी जातको व्यावसायिक खेती गर्ने गरिएको छ । नेपालको एक हजारदेखि दुई हजार मिटरमा अर्थाेडक्स टी उत्पादन गर्ने गरिएको छ ।

पोखरा महानगरको हेमजा हुँदै खानेपानी, भेडाबारी, खोरामुख हुँदै ल्याङ गाउँ पुग्न सकिन्छ । गुरुङ संस्कृति झल्काउने यहाँका घरले पर्यटकलाई आकर्षित गर्छन् । २०५३ सालमा गाउँको सिरानमा रहेको बारीमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा चियाखेती सुरु भएको थियो । यहाँ एक हजार दुई सय रोपनीमा चिया खेती गरिएको छ । यहाँ उत्पादित धेरैजसो चिया युरोप निर्यात गरिन्छ भने केही मात्रामा आन्तरिक बजारमै खपत हुन्छ । चियाबारी पुग्ने पाहुनाहरूले कोसेलीका रूपमा पनि चिया किनेर लैजाने गरेका छन् ।