• २७ पुस २०८१, शनिबार

चार जनाको भरमा जिल्ला अस्पताल

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, कात्तिक १५ गते । जिल्ला स्तरिय अस्पताल चार जनाको भरमा मात्रै भनेर झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताल अहिले दरबन्दीका चारजनाको भरमा सञ्चालित छ । 

१५ शैयाको उक्त जिल्ला अस्पतालमा १८ जनाको दरवन्दी रहेको भए पनि दरबन्दीका चार जना मात्रै हाल अस्पतालमा कार्यरत छन् ।

पवित्र तीर्थस्थल मुक्तिनाथ तथा दामोदरकुण्ड एवम् उपल्लो मुस्ताङको लोमन्थाङ तथा कोरला भ्रमणका लागि आन्तरीक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्ने मुस्ताङको जिल्ला अस्पताल चार जनाको मात्रै भरमा छ । १८ जनाको दरबन्दी रहेको उक्त अस्पतालमा आठौं तहका निमित्त मेडिकल सुपरिटेण्डेन्टसहित दुई जना डाक्टर तथा एक जना डार्करुम अधिकृत र एक जना स्टाफनर्स मात्रै कार्यरत रहनुभएको मुस्ताङ अस्पतालका अध्यक्ष तथा जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले जानकारी दिनुभयो । 

अस्पतालमै दरबन्दी रहेका एक जना प्रशासनका कर्मचारीको सरुवा भैसकेको छ भने एक जना अध्ययन बिदामा हुनुहुन्छ ।

अस्पतालमा प्रशासन तर्फ पाँचौं-छैटाैं तहको अधिकृतको दरबन्दी रहे पनि त्यो खाली छ । त्यस्तै गरी स्टाफनर्स एक, अहेब तीन, अनमी दुई, ल्याब टेक्नीसियन एक र कार्यालय सहयोगी छ जना दरबन्दीका कर्मचारीको पद रिक्त छ । 

दरबन्दीको कर्मचारी नहुँदा अस्पतालमा सेवा दिनका लागि निकै समस्या हुने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.तेजस नेपालले जानकारी दिनुभयो । 

दरबन्दीका कर्मचारी नहुँदा करार तर्फबाट केही कर्मचारीहरु नियुक्त गरेर सेवा दिने प्रयास गरिएको भए पनि दरबन्दीमा रहेका कर्मचारी अस्पतालमा नहुँदा भने समस्या हुने उहाँको भनाइ छ । 

मुस्ताङ जस्तो ठाउँमा चिसोले गर्दा बिरामी धेरै पर्ने र भ्रमणमा आउने अन्यत्रका पर्यटकहरु पनि बिरामी परिरहने समस्या त्यसैमाथि हवाइ तथा सडक मार्ग पनि सहज नहुँदा बिरामीले सास्ती व्यहोर्ने गरेको होटल जोमसोम प्राइड होटलका सञ्चालक अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मुस्ताङमा सिजनको समयमा दैनिक चारदेखि पाँच हजार पर्यटकहरु भित्रिने र त्यो समयमा बिरामी हुनेहरु पनि बढ्न सक्ने समस्या हुँदा अस्पतालमा कर्मचारी नहुँदा समस्या हुन्छ नै ।

हाल मुस्ताङ अस्पतालले तीन जना मेडिकल अधिकृत, एक जना नर्सिङ अधिकृत, दुई जना फार्मेसी सहायक, दुई जनजा ल्याब टेक्निसियन, तीन जना स्टाफ नर्स, एक जना रेडियोग्राफर, एक जना  हेल्थ असिस्टेन्ट करारमा नियुक्त गरेर कामकार्वाही सञ्चालन गरेको छ । 

त्यस्तै मेडिकल रेकर्डर, कम्प्युटर सहायक, सवारी चालक एकएक जना र आठ जना कार्यालय सहयोगीलाई करारमा नियुक्ति गरेको अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।