• २७ पुस २०८१, शनिबार

डेंगु सङ्क्रमित सङ्ख्या एघार हजार नाघ्यो

blog

चौघडामा लामखुट्टेको बासस्थान तथा लार्भा नष्ट गरिदै । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, कात्तिक १३ गते । बागमती प्रदेशमा डेंगु सङ्क्रमित सङ्ख्या एघार हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १२ गते सोमबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार २३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । 

डेंगु सङ्क्रमणका कारण प्रदेशमा हालसम्म दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिनुभयो । गत २४ घण्टामा यहाँ ११४ जना डेंगु सङ्क्रमित थपिनुभएको छ ।  

प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी काठमाडौँमा डेंगु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार काठमाडौँमा ३ हजार ४५२, चितवनमा २ हजार ५८१ ललितपुरमा एक हजार ९१,  मकवानपुरमा एक हजार ३७९, भक्तपुरमा एक हजार १७८, धादिङमा ४८४, नुवाकोटमा ३४९, काभ्रेपलान्चोकमा २२५, दोलखामा १२५, सिन्धुपाल्चोक ८३, रामेछापमा ३८, सिन्धुलीमा ३७ र रसुवामा सबैभन्दा कम एक जनामा डेंगु पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार साउनमा ८७८, भदौमा दुई हजार २२१, असोजमा पाँच हजार ४५८ र कात्तिक १२ गतेसम्म दुई हजार ४६६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । पछिल्लो तथ्याङ्कअनुसार प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढेको छ । गत आवमा प्रदेशभरि एघार हजार ९०६ जना डेंगुबाट प्रभावित हुनुभएको थियो ।