• २७ पुस २०८१, शनिबार

तिहारको रोटी बनाउन भ्याइनभ्याइ

blog

तिहारका लागि रोटी बनाउनुहुँदै महिला उद्यमी रीता गुरुङ । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक १३ गते । नेपालगन्ज उपमहानगरपालिका –१० आदर्शनगर चोकनजिक खाजा पसल सञ्चालन गर्दै आउनुभएकी ४२ वर्षीया महिला उद्यमी रीता गुरुङलाई यतिखेर तिहारका रोटी बनाउन भ्याइनभ्याइ छ ।

केही समय विदेशसमेत (कुवेत) गएर फर्कनुभएकी गुरुङलाई तिहारमा बिक्री गर्नका लागि विभिन्न किसिमका रोटी बनाउन भ्याइनभ्याइ भएको हो ।

“म केही वर्षअघि रोजगारीका लागि (कुवेत) विदेशसमेत गएर फर्केँ, विदेशमा काम गर्न अत्यन्तै गाह्राे हुँदोरहेछ, आफूले सोँचेको र भनेजस्तो नहुँदो रहेछ ।” महिला उद्यमी गुरुङले भन्नुभयो, “विदेशमा दुःख पाउनुभन्दा बरु आफ्नै देशमा फर्केर सानोतिनो भए पनि केही काम गर्छु भनेर नेपाल फर्केँ, यहाँ फर्केपछि सानो घुम्तीमा चिया पसल सुरु गरेँ ।”

“केही वर्ष घुम्तीमा चिया पसल गरेपछि अलि ठूलो पसल सञ्चालन गर्ने योजना बनाएँ । यो ठाउँमा सटर मिल्यो र यहाँ खाजा नास्ताको पसल सञ्चालन गरेँ ।” गुरुङले भन्नुभयो, “खाजा नास्तासँगै चाडवाडमा त्यसमा पनि तिहारका बेलामा रोटी बनाउन सुरु गरेँ, रोटी बिक्रीबाट राम्रो आम्दानी पनि भइरहेको छ, अहिले त अर्डर पुराउन पनि गाह्रो भइरहेको छ, बिहानैदेखि रातिसम्म रोटी बनाउन भ्याइनभ्याइ छ ।”

गुरुङले तिहारका लागि झिलिङ्गा (सिन्कामारी), फिनी, सेल तथा बतासा रोटी बनाउने गरेको बताउनुभयो । “मैले तिहारका लागि झिलिङ्गा (सिन्कामारी), फिनी, सेल तथा बतासा रोटी बनाउने गरेको छु, ग्राहकहरु यहीँ आउनुहुन्छ, सेलरोटी अन्य समयमा बनाउने गरेपनि अरु रोटी भने तिहारका लागि मात्र बनाउने गरेको छु ।” 

गुरुङले भन्नुभयो, “एकपटक मसँग रोटी लगेर जानुभएका ग्राहकहरु फेरि पनि मकहाँ नै आउनुहुन्छ ।” झिलिङ्गा (सिन्कामारी) रोटी प्रतिगोटा ३० रुपियाँ, फिनी रोटी प्रतिगोटा ४० रुपियाँ, सेलरोटी प्रतिगोटा ३० रुपियाँ र बतासा रोटी प्रतिगोटा १५ रुपियाँमा बिक्री गर्ने गरेको गुरुङले बताउनुभयो । 

सिजनको समयको रोटी व्यवसायले राम्रो आम्दानी हुनुका साथै घर खर्च गर्न निकै सहज भएको उहाँले बताउनुभयो । पछिल्लो समय गाउँमा भन्दा शहरका मानिसको जीवन अत्यन्तै व्यस्त हुँदै गइरहेको छ । घरका सदस्यहरु व्यस्त भएका छन् । यस्तै, मानिसलाई लक्षित गरेर तिहारका लागि विभिन्न रोटीहरु बनाउने गरेको उहाँको भनाइ छ ।

चाडपर्वको समयमा हरेक नेपालीको घर–घरमा विभिन्न प्रकारका रोटीहरु बन्ने गर्छन् । हरेक चाडवाडमा नेपालीका घरमा रोटी बनाउनु र पाहुनालाई रोटीले स्वागत गर्ने परम्परादेखि चल्दैआएको प्रचलन हो । काममा फुर्सद नहुने मानिसलाई बनिबनाउ रोटी खरिद गर्न पाउँदा सहज हुने र उद्यमीको पनि व्यवसायमा वृद्धि भई आयआर्जनमा टेवा पुग्ने गरेको छ ।