• २७ पुस २०८१, शनिबार

कैफियत भेटिएका पसललाई जरिबाना

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, कात्तिक १३ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ स्थित राडीबजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको अनुगमनका क्रममा केही व्यवसायीलाई जरिबाना गरिएको छ भने म्याद गुज्रेका दैनिक उपभोग्य सामग्रीसमेत जफत गरिएको छ । 

अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार राडीबजारका सात वटा पसल अनुगमन गर्दा कैफियत भेटिएका पाँच वटा पसललाई जरिबाना गरिएको छ । पाँच वटा पसललाई ४५ हजार रुपियाँ जरिबाना गरिएको छ भने दुई वटा पसलबाट म्याद गुज्रेका सामग्री जफत गरिएको छ । सात हजार ६८० मूल्य बराबरका ती सामग्री नष्ट गरिएको उहाँले बताउनुभयो । 

अनुगमनका क्रममा मूल्यसूची नराखिएको, केहीमा म्याद गुज्रेका सामग्री रहेको, कुनै पसलले दर्ता प्रक्रिया पूरा नगरेको पाइएको छ । चाडबाडको बेलामा हुन सक्ने सम्भावित कालोबजारी नियन्त्रण, गुणस्तरहीन सामग्रीको बिक्री वितरणमा रोक, कानुनी मापदण्डको अवस्था निरीक्षणका लागि बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो । उपभोक्ताको स्वास्थ्यमा असर नपर्ने गरी उपभोग्य सामग्री बिक्री वितरण गर्न र ठगिनबाट जोगाउन बजार अनुगमन गरिएको उहाँको भनाइ छ । 

मापदण्ड पूरा नगरेका व्यवसायीलाई सचेतसमेत गराइएको छ । जिल्ला प्रशासन कार्यालयले विभिन्न कार्यालयसँगको समन्वयमा संयुक्त बजार अनुगमन गर्दै आएको छ । यसअघि पनि जिल्ला सदरमुकामस्थित खलङ्गा बजार, चौरजहारी बजारलगायतका स्थानमा बजार अनुगमन गरेर मापदण्ड पूरा नगरेका व्यवसायीलाई जरिबाना गरिएको थियो । राडीबजारमा आठबिसकोट नगरपालिका, पशु अस्पताल तथा पशु सेवा कार्यालय, नेपाल प्रहरीलगायतको समन्वयमा बजार अनुगमन गरिएको हो ।