• २७ पुस २०८१, शनिबार

बालिका र महिला हराउने क्रम बढ्दै

blog

तानसेन समाचारदाता 

तानसेन, कात्तिक १३ गते । पाल्पामा बालिका तथा महिला हराउने क्रम बढेको छ । विगतका वर्षमा भन्दा पछिल्लो वर्षमा बालिका र महिला हराउने क्रम बढेको प्रहरीले जनाएको छ । 

आर्थिक वर्ष २०७८/७९ मा ३१ जना बालिका हराएका निवेदन प्रहरीमा परेको थियो । यस्तै आव २०७९/८० मा २९ बालिका र आव २०८०/८१ मा ४५ जना बालिका हराएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

पछिल्लो समय मोबाइल र सामाजिक सञ्जालको प्रयोगले बालिका र महिला हराउने क्रम बढेको प्रहरीको भनाइ छ । सामाजिक  सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता प्रविधिको प्रयोगबाट चिनजान भएका युवकसँग विवाह गर्दा प्रहरीमा परिवारबाट हराएको उजुरी आउने गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्बासेले जानकारी दिनुभयो । यस्तै महिला पनि परपुरुषसँगको सम्पर्क रहेर प्रेममा परेपछि हराउने बढेका उहाँले बताउनुभयो । 

परिवार तथा आफन्तले प्रहरीमा हराएका भनेर निवेदन दिने सबै जसो बालिका फेला पर्ने गरेको उहाँले बताउनुभयो । परिवारलाई थाहै नहुने गरी बालिका किशोर अवस्थामा पुगेपछि सामाजिक सञ्जालको माध्यमबाट चिनजानका युवक तथा किशोरसँग विवाह गरी गएको पाइएको प्रहरीले जनाएको छ । केही परिवारले भने अन्तरजातीय विवाह गरेका जोडीलाई पनि परिवारले हराएको भनेर प्रहरीमा निवेदन दर्ता गर्ने गरेको प्रहरीले जनाएको छ । 

बालिका हराएको भनेर निवेदन दिएको केही दिनभित्रै कुनै केटा मानिससँग प्रेममा परेर सम्बन्ध गाँसेको भन्ने जानकारीमा आउने गरेको महिला प्रहरी सेलले जनाएको छ । प्रहरीको तथ्याङ्कमा विवाह भएका महिलासमेत धेरै हराउने गरेका छन् । पछिल्लो समय विदेश गएका पुरुषले घरमा फर्किएपछि श्रीमती हराएको भनेर उजुरी दिने गरेका छन् । विवाह भइसकेका महिला परपुरुषसँग सम्बन्ध गाँसेर सम्पर्कविहीन हुने क्रम बढेपछि प्रहरीमा महिला हराएको भनेर खोज्नका लागि निवेदन दिने बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । यस्तै तेस्रो सङ्ख्यामा हराउनेमा किशोर छन् । 

त्यसपछि ज्येष्ठ नागरिक पुरुष र महिला पनि हराउने सूचीमा छन् । यसरी हराउने अधिकांश फेला परेका चन्दले बताउनुभयो । पछिल्लो तीन आवमा ४०३ बालिका, बालक, महिला, ज्येष्ठ नागरिक हराएकामा ३८२ जना फेला परेका प्रहरीले जनाएको छ । तीन आवभित्र हराएकामध्ये २१ जना अहिलेसम्म फेला नपरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो ।