• १२ कात्तिक २०८१, सोमबार

सुरक्षा परिषदमा मध्यपूर्व द्वन्द्वको समीक्षा

blog

काठमाडौँ, कात्तिक १२ गते । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बैठकले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा गरेको छ । 

परिषद्को उक्त ३५ औँ बैठकमा मध्यपूर्वमा बढिरहेको द्वन्द्वले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव, चुनौती तथा त्यहाँ रहेका नेपालीको सुरक्षा र अपनाउनुपर्ने भावी रणनीतिबारे छलफल भएको थियो । 

अन्तर्राष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रम विशेषगरी राष्ट्रिय सुरक्षामा आउन सक्ने विधि चुनौतीबारे छलफल भएको परिषद्का सदस्यसचिव रामेश्वर दङ्गालंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

बैठकमा सैनिक ऐनको व्यवस्थाबमोजिम नेपाली सेनाका लागि आव २०८१-८२ मा खरिद गरिने हातहतियार, खरखजाना तथा अन्य सैन्य सरसामग्री खरिद गर्न नीतिगत स्वीकृतिका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

बैठकले परिषद्को बैठक सञ्चालन कार्यविधि २०८१ स्वीकृत गरेको छ । बैठकमा  गृह र रक्षामन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति एवं रक्षा सचिव सहभागी हुनुहुन्थ्यो ।