• १२ कात्तिक २०८१, सोमबार

बर्सेनि पाँच लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक : श्रममन्त्री

blog

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी । फाइल तस्बिर

काठमाडौँ, कात्तिक १२ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बर्सेनि पाँच लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजगारीको बाध्यता कायम रहने बताउनुभएको छ ।

सोमबार काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हरेक वर्ष नेपालमा पाँच लाख मानिस श्रम बजारमा आउने र त्यसमध्ये एक लाख मानिसले मात्रै रोजगारी पाउने गरेको बताउनुभयो ।

बाँकी चार लाख मानिसलाई रोजगारी दिन नसकेसम्म वैदेशिक रोजगारीमा जाने मानिसहरूको सङ्ख्यामा कमी नहुने उहाँको भनाइ छ । उहाँले बर्सेनि सरकारले रोजगारीको अवसर सिर्जना गर्नुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले विभिन्न भाष्य निर्माण भएको छ । कहिले बाध्यात्मक भन्छौँ, कहिले स्वैच्छिक भन्छौँ । कहिले अवसरका खोजी भन्छौँ, जे भने पनि सत्य कुरा के हो भने मुलुकमा हरेक वर्ष पाँच लाख मानिस श्रम बजारमा आउँछन्, एक लाख मानिसले मुलुकको श्रम बजारमा रोजगारी पाउँछन् । चार लाख मानिस बेरोजगार छन् । तिनलाई व्यवस्थित नगरेसम्म वैदेशिक रोजगारीको बाध्यता, परनिर्भरता हामी अहिले घटाउन सक्दैनौँ ।’’

मन्त्री भण्डारीले अवसर सिर्जना गर्नका निम्ति मुलुकको समष्टिगत राजनीतिक परिस्थितिदेखि सबैकुरा अनुकूल बनिरहेको बताउनुभयो । उहाँले वर्तमान सरकार सरकार बनाउनका लागि मात्रै नभई काम गर्नका लागि बनेको बताउनुभयो । सरकारलाई असफल हुने छुट नरहेको भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले अवसर सिर्जना गर्नुपर्दछ । अवसर सिर्जना गर्नको निम्ति मुलुकको समष्टिगत राजनीतिक परिस्थितिदेखि लिएर सबैकुरा अनुकूल हुँदै जानुपर्छ । त्यो अनुकूल हुँदै गइरहेको छ । यो सरकार जसरी निर्माण भएको छ, कसैले अप्रत्याशित भन्छन्, कसैले अप्राकृतिक भन्छन्, म दुवै कुरा हो भन्छु । तर खासमा कामका लागि हो । सरकार मात्रै बनाउने हिसाबले बनेको होइन । कुनैपनि हिसाबले यो सरकारलाई असफल हुने छुट छैन ।’’

श्रममन्त्री भण्डारीले मुलुकभित्रका रोजगारका सम्भावनालाई हेर्ने आन्तरिक रोजगार महाशाखा बनाउन लागेको बताउनुभयो ।