• १२ कात्तिक २०८१, सोमबार

अशक्तको घरमै पुगेर नागरिकता प्रदान

blog

मदाने गाउँपालिका –४ निवासी ‘क’ वर्गका अपाङ्ग नारायण सेन ओलीलाई नागरिकता प्रदान गरिँदै । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, कात्तिक १२ गते ।
 जिल्ला प्रशासन कार्यालय, गुल्मीले अशक्तको घरमै पुगेर नागरिकता दिएको छ । सोमबार मदाने गाउँपालिका –४ निवासी ‘क’ वर्गका अपाङ्ग नारायण सेन ओलीलाई नागरिकता प्रदान गरेको हो ।

मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले संयुक्त रूपमा ओलीलाई नागरिकता प्रदान गर्नुभएको हो ।

२०६१ साल असार २१ गते जन्मिनुभएका ओलीको सात वर्ष पहिले चितवनमा टाउकाको शल्यक्रिया पश्चात् प्यारालाइसिस भयो र शरीर चल्न छोड्यो ।

आमाको साथमा मावली घर मदाने –०७ भनभनेमा बस्दै आउनुभएका उहाँको अहिले आमा र मामाले स्याहारसुसार गर्दै आउनुभएको छ  ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत फुल्लेलले अपाङ्ग नागरिकलाई घरमै पुगेर सेवा दिने कार्यालयको अभियान स्वरु ओलीलाई नागरिकता प्रदान गरेको बताउनुभयो ।  ओलीकी आमा पवित्राले घरमै नागरिकता दिने टोलीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

यस अगाडि पनि जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय सरकारको समन्वयमा अशक्तहरूका लागि घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको छ । नेपालमै जन्मिएका नागरिक नागरिकताविहीन बन्न नहुने र त्यस्ता व्यक्तिहरूको घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।