कक्षा कोठाको मेरो लेक्चर लगभग सकिनै लागेको थियो, स्नातक तहको एक अब्बल विद्यार्थी उठेर भन्छन् ‘सर हामीले किन पढ्ने ? मलाई पढ्न मनै छैन, म त केवल मेरो ड्याडीको रहरका लागि मात्र पढ्न आएको हो ।’ उ भन्दै थियो ‘तर मेरो खास रहर क्रिकेट हो, अस्ती भर्खरै मात्र भएको जिल्ला स्तरीय टुर्नामेन्टमा एकै ओभरमा छ छक्का हान्देको ।’ मैले भनेँ, पढ्न मनै छैनको उत्तर मसँग छैन, तर किन पढ्ने उत्तरका लागि यो कक्षा सकिएपछि मसँग एक पटक भेट्नका लागि आग्रह गरे । कक्षा सकिएपश्चात् ऊ सँग मेरो भेट त भयो, मेरो उत्तर उसले पायो तर लाग्यो, ऊ मेरो उत्तरसँग कन्भिन्स भएको छैन । कन्भिन्स नभएको बुझी फेरि अन्त्यमा मैले भनेँ, पैसा कमाउन । केटो मुसुक्क हाँसेर हिँड्यो । मलाई लाग्यो केटो अब सहमत भयो ।
हिन्दी सिनेमा थ्रि इडियटसमा अमिर खानको एक भनाइ गज्जबको छ, ‘काबिल वनो काबिल, कामयाबी तो झक मारके पिछे भागोगी ।’ लाग्छ, हाम्रो शिक्षा पद्धतिले सिधै कामयाबीमा विश्वास गरेको हो कि ? होइन भने विद्यालय र विश्वविद्यालयको उत्पादन किन बजारमा विकाउ छैनन्, विकाउ भएका पनि टिकाउ छैनन् ।
यहाँ उल्लिखित एक शब्द ‘बाबुको रहर’ ले थप पुरातन सोचलाई नै निरन्तरतालाई दिएको हो कि जस्तो लाग्छ । के सचिन तेन्दुलकर र सन्दिप लामिछानेले पनि बा–आमाको रहर पूरा गरेको भए के हुन्थ्यो होला त ! हजारौँ सन्दिप लामिछानेहरू अझसम्म पनि बाआमाकै रहर पूरा गर्दै होलान् मोफसलमा ।
सबैले बुझेको कुरो हो, विद्यालय शिक्षा न्यूनतम समाज विकासको आधारशिला हो । यसमा दुईमत छैन । प्रसिद्ध नाटककार तथा लेखक जर्ज बर्नाड शा भन्छन्, ‘बच्चालाई ज्ञानको खोज ग्रहण गर्न उत्प्रेरणा गर्नु आवश्यक हो, बच्चाको खोजीमा ज्ञान जानु किमार्थ सही हैन ।’ पछिल्लो समय यो भाव बदलिँदो अवस्थामा पुग्न लागेको देखिन्छ नेपालमा, युवा पलायनले गर्दा । बर्नाड शा को भनाइमा शिक्षाका दुई स्वरूप छन, अनुकूलता र विधि । यी दुवै उल्लिखित तत्वलाई बेवास्ता गर्दै जाने हो भने नेपाली शिक्षाको स्तर कहाँ पुग्छ, सो यकिन गर्न अप्ठेरो छ । सोको दीर्घकालीन असर कहाँसम्म पुग्छ, मेलो पाउनसमेत हामीलाई सहज नहुन सक्छ ।
शैक्षिक योजना र दलीयता
नेपाल कम्युनिस्ट पार्टी माओवादी सायदै नेपालको पहिलो दल थियो होला जसले विद्यमान भनिएको बुर्जुवा शिक्षाको मेलो भत्काएर नितान्त नयाँ सिराको वैज्ञानिक शिक्षा प्रणालीको विकास गराउने एजेन्डा बोकेको थियो । विगतदेखि वर्तमानसम्म लगभग अधिक समय शासन सत्तामा बसेको यस दलले सायद यो एजेन्डा भसक्क बिर्सिए झैँ लाग्छ । सायद, बुर्जुवा शिक्षाको परिमार्जित भर्सन आजको शिक्षा प्रणाली होला ? भनिन्छ मुलुकको समानान्तर एवं दीर्घकालीन शैक्षिक उन्नयनका लागि आधारभूत शिक्षामा जोड दिनु पर्छ भने क्षणिक विकासमा रम्नका लागि पूर्वाधार पुनर्निर्माणमा ।
भर्खरै मात्र राष्ट्रिय योजना आयोगले प्रकाशन गरेको सोह्रौँ योजनाको अवधारणा पत्रमा नेपालले सन् २०२६ ( विसं २०८२ ) सम्म अतिकम विकसित मुलुकबाट विकासशील देशमा स्तरेन्नति गर्ने र सन् २०३० ( विसं २०८७ ) सम्म दिगो विकासका लक्ष्य हासिल गर्र्दै मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्य तय गरेको छ । असाक्षरता, उच्च वैदेशिक ऋण, विद्यमान गरिबी तथा विप्रेषषमुखी अर्थव्यवस्था भएको हाम्रो मुलुकमा यो सम्भव होला त ? चालु आवमा नेपाल सरकारले कुल बजेटको १०.९५ प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि शिक्षा क्षेत्रमा ठोस उन्नयन सरकारले गर्न सक्ला र ? फराकिलो शैक्षिक दायराका निमित्त केवल अधिकतम बजेट विनियोजन मात्र विकल्प हुन सक्ला र ?
हरेक मुलुकमा गुणस्तरीय शिक्षाको मुख्य उद्देश्य भनेको व्यक्तिगत ज्ञान, सिप, क्षमताको दायरा अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्वको विकास गर्नु हो । यसका लागि योग्य जनशक्ति विकास गर्नु पनि हो । शिक्षाले मानव जातिमा निहित आन्तरिक शक्तिलाई उजागर गर्नसमेत सहयोग गर्छ । यसरी समग्रमा व्यक्ति, घर, समाज, मुलुक हुँदै विश्वमै प्रभाव पार्न सक्ने शिक्षा जस्तो संयन्त्रलाई किन मुलुकले बेवास्ता गर्दै आएको छ ? यसको विद्यालय र विश्वविद्यालयमा भित्रिएको बेथिति तथा गुणस्तरीयता मा सरकार किन मौन छ ? विश्वविद्यालय तथा विद्यालयमा सिकाइने औपचारिक शिक्षालाई मात्र हामी शिक्षाको संज्ञा दिन्छौँ तर जीवनदेखी मृत्युपर्यन्त लिने अनुभवसमेत शिक्षाको स्वरूप हो ।
अलमलमा शैक्षिक संस्था
भर्खरै मात्र सामाजिक सञ्जालमा एक समाचार भाइरल भयो । जसमा आवेदन मागेर जनशक्ति परिपूर्ति गर्ने काम गरियो तर छानिएको जनशक्तिले भने अनुरूपको कार्य सम्पादन गर्न सकेन । त्यो पनि एक नेपाली विश्वविद्यालयको एक पदक बिजेता विद्यार्थीले । अन्त्यमा त्यस व्यक्तिले कामसमेत छाडेर विदेशका लागि आवेदन दिएको सम्म सञ्जालमा पढ्न पाइयो । त्यही अनुरूपको अर्को समाचारसमेत पढ्न पाइयो, जसमा दसौँ पटक विज्ञापन दिँदा पनि आवेदन नपरेको । पहिलो परिघटनामा विद्यार्थी वा जनशक्तिको असक्षमता देख्न सकिन्न, किनकि सैद्धान्तिक हिसाबले ऊ पदक बिजेता बन्न सफल भयो । व्यावहारिक प्रारूपको शिक्षाको विधि (पेडागोजी) मा उसको कमी देखियो । यसको जिम्मा लिने कसले अब ? यसमा पाठ्यक्रम निर्माता र नियमनकारी निकायले पनि ध्यान दिने हो कि ? माथि उल्लिखित दुवै घटनाक्रमको परिस्थितिको आधारविन्दु फरक छ, जहाँ असक्षमता र अभाव देखाइएको छ ।
मैले अध्यापन गर्ने शैक्षिक संस्थामा पनि भर्नादर उच्च भए पनि उपस्थितिदर र छाड्ने दर (ड्रप आउट रेट ) बढ्दो ट्रन्डमा छ । नेपाली विश्वविद्यालयवाट सम्बन्धन प्राप्त शैक्षिक संस्थाको मात्र समस्या होइन यो, अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थाको पनि समस्या यही नै छ । शैक्षिक पूर्वाधार र जनशक्तिको अभावमा । भला यसको पाठ्यक्रममा निर्माणमा कुनै त्रुटि नहोला । यसै कारण पनि नेपालका शैक्षिक संस्था र विश्वविद्यालय हिजोआज थप अलमलमा परेका देखिन्छन् । अलमल त केवल एक समयगत तथ्य हो । माथि उल्लिखित दुवै सन्दर्भका विषयमा गुणस्तरीयता कायम गर्न के गर्नु पर्छ भन्ने कुरामा थप जोड र बल दिनु पर्छ । हेइन भने अव्यावहारिक शैक्षिक प्रारूप नेपाली बजारमा केवल हात्तीको देखाउने दाँत वा सोही स्वरूपका संयन्त्रका रूपमा खडा हुन पुग्छन् ।
पछिल्लो समय कोरिया, जापान, नर्बे, युरोप, माल्टा तथा अन्य विकसित मुलुकमा नेपाल सरकारले श्रम सम्झौता गरेपछि नेपालीको श्रम गन्तव्य फेरिएको छ । गल्फ मुलुक जानेको ग्राफ ओरालो लाग्दो छ भने युरोप जानेको ग्राफ उक्लँदो छ । श्रमिकको मनस्थिति बदलिएको छ, गएपछि विकसित मुलुकै जाउँ न भन्ने । गत वर्षको तथ्याङ्क अनुसार युरोप मात्र जानेको सङ्ख्या मात्र पनि लगभग ९७ हजार नाघेको छ । यस कारण, दक्ष जनशक्ति हुदाँखाँदाको जागिर छाडेर पनि विदेश जान लाग्दो छ । दोस्रो, पाठयक्रम विकासको सन्दर्भमा विश्व डिजिटलाइजेसनको युग पार गरेर कृत्रिम बौद्धिकतामा पुगिसकेको अवस्थामा नेपाली पाठयक्रम पुरानै ठर्राको सन्दर्भ सामाग्री र शैक्षणिक विधिमा अल्झिएर बसेको छ ।
निष्कर्ष
खास गरी शैक्षिक अलमल्याइ दुई हिसाबले हुने गर्छ, कि त उत्तम पाठ्यक्रम र दक्ष मानव संसाधनको अभावमा । हिजोआज सक्षम मानव संसाधन टिकाउने काम फलामको च्युरा चपाउनु वा सो सरहको काम हो । माथि उल्लेख भए जस्तै विद्यार्थी विषयगत डिस्कोर्स भन्दा पनि सैद्धान्तिक अभ्यासमा बरु अलि समय खर्चेर पनि कण्ठस्थ पार्न खुसी बन्छ । व्यावहारिक विषयवस्तुको आडमा बनेको सिद्धान्त विद्यार्थी घोक्न थाल्छ । बुझाइको साटो घोकाइ विद्यार्थीलाई पक्का पनि सहज त हुन्छ तर यसको मनोवैज्ञानिक असर दिगो र अभ्यस्त बन्छ । अब यसै मनोविज्ञानलाई सूक्ष्म र गतिशील बनाएर बुझ्न योग्य विद्यार्थी निर्माण गर्न समयको फजुल खर्चसमेत हुन्छ । यसमा शिक्षकको भूमिका अहम् हुन्छ ।
उत्पादित विद्यार्थी वर्ग कतिपय अवस्थामा योग्य त छन् तर अव्यावहारिक घुलनशीलता बढी छ । जबकि नेपाल जस्तो विविधतामय मुलुकमा सामाजिक घुलनशीलता आवश्यक औजार हो । यसर्थ पनि विभिन्न विकासे मोडेल अपनाउँदा एक प्रकारको शैक्षिक मोडेलको जग बसाल्न सकियो नेपाली जनशक्तिको विश्व बजारमा विकाउ अनि टिकाउ हुने पक्का छ ।