• २६ पुस २०८१, शुक्रबार

धाननाचको स्तम्भ स्थापना

blog

फुङ्लिङको तोक्मेडाँडास्थित हटिया लाइनमा स्थापना गरिएको धाननाच स्तम्भ । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, पुस २६ गते ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू जातिको संस्कृति झल्कने धाननाचको स्तम्भ (ताक्वाचङ याःराक्मा तेन) स्थापना गरिएको छ । सदरमुकाम फुङ्लिङको तोक्मेडाँडास्थित हटिया लाइनमा स्तम्भको स्थापना गरिएको हो ।
धाननाच स्तम्भको बिहीबार उद्घाटन गरिएको छ । किराँत याक्थुङ चुम्लुङको सङ्घीय अध्यक्ष प्रेम येक्तेनले स्तम्भको उद्घाटन गर्नुभएको छ । किराँत याक्थुङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्तम्भ निर्माणसँगै स्थापना गरेको हो ।

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङ्बोका धान नाच स्तम्भ (प्रतिमा) स्थापनाका लागि करिब ८० लाख रुपियाँ लगानी भएको छ । स्तम्भ स्थापनाका लागि लगानी भएको अधिकांश रकम कियाचु इजरायल शाखाकै समन्वय पहलमा प्राप्त भएको मेन्याङ्बोले जानकारी दिनुभयो ।

धाननाचको प्रतिमा निर्माण गर्नमा मात्र करिव ४० लाख रुपियाँभन्दा बढी खर्च भएको कियाचु ताप्लेजुङका उपाध्यक्ष डम्बर पालुङ्वाले जानकारी दिनुभयो । धाननाच स्तम्भसँगै लिम्बू संस्कृतिमै आधारित केः (च्याब्रुङ), सिलाम साक्मा आदिको स्तम्भ (प्रतिमा) पत्रि क्रमशः स्थापना गर्दै लैजाने योजना रहेको पनि जिल्ला उपाध्यक्ष पालुङ्वाले बताउनुभयो । पछिल्लो समय मौलिक संस्कार–संस्कृति लोप हुँदै गएको अवस्थामा लिम्बू समुदायको संस्कृतिअन्तर्गत रहेको धाननाच स्तम्भ निर्माण गरिएको उहाँको भनाइ छ ।

मौलिक संस्कृति झल्कने स्तम्भ तथा प्रतिमा निर्माणले संस्कृतिको संरक्षणसँगै जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा पनि कियाचुले राखेको छ । पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने उद्देश्यले दुई पुरुष तथा दुई जना महिलाले धान नाच प्रस्तुत गर्दै गरिहेको प्रतिमा र पृष्ठभूमिमा कञ्चनजङ्घा, कुम्भकर्ण हिमाल र प्रसिद्ध धार्मिकस्थल पाथिभरा (मुक्कुमलुङ) को प्रतिमा झल्किने आकृति चित्र निर्माण गरिएको छ ।

यता लिम्बू जातिको संस्कृतिमा आधारित धाननाच (याःलाङ) वैवाहिकलगायतका शुभकार्य, मेला, महोत्सवजस्ता कार्यक्रममा नाच्ने गरिन्छ । युवायुवतीसँगै सबै उमेर समूहकाले एक अर्काको हात समाएर पालाम गाउँदै धान नाच्ने गरिन्छ । धान नाच स्तम्भको उद्घाटनको अवसरमा धान नाच, च्याबुङ नाच प्रस्तुत गरिएको थियो । त्यस्तै दीपा सुहाङ, नोगेन लिम्बू, पुस्पाञ्जली तिलिङ, बाल कलाकार रुक्साना लिम्बूलगायतका कलाकारले साङ्गीतिक प्रस्तुति  गर्नुभएको थियो ।