• ८ मंसिर २०८१, शनिबार

फ्लाइ दुबईकाे कात्तिक २५ बाट भैरहवामा दैनिक उडान हुने

blog

दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई जहाज

काठमाडौँ,  कात्तिक ६ गते । दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि मुलुकको दोस्रो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ ।

फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ उडानका लागि आजदेखि बुकिङ खुलाएको छ । सो कम्पनीको नेपालस्थित आधिकारिक एजेन्ट ९जिएसए० युनिभर्सल टुर्स एण्ड ट्राभल्स रहेको छ ।      

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईको विमान दिउँसो १ः४५ मा भैरहवा र २ः४५ मा काठमाडौँ आउनेछ । काठमाडौँमा एक घण्टा ‘टेक्निकल ल्याण्ड’ गरेर दुबई उड्नेछ ।

फ्लाई दुबईले भैरहवा विमानस्थलमा यात्रु ओरालेर त्यहाँबाट विदेश जाने यात्रुलाई ल्याएर काठमाडौँमा एक घण्टा रोकेर दुबई उड्नेगरी प्राधिकरणबाट अनुमति पाएको छ । टिकट र थप जानकारीलाई फ्लाई दुबईको वेबसाइटमा सम्पर्क गर्नसकिने जनाइएको छ ।

यस विमानस्थलमा कम्पनीको पहिलो उडान हो । हप्ताको सातै दिन दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो । यससँगै फलाई दुबईको उडान गन्तव्य सङ्ख्या एक सय १३ पुगेको छ भने ५३ देशमा यसको सेवा विस्तार भएको छ ।

यसैबीच फलाइ दुबईको उडान सञ्चालन टीमले पनि हालै विमानस्थलको भ्रमण गरेको महाप्रबन्धक तिवारीले बताउनुभयो ।  यस उपलब्धिमा प्रधानमन्त्रीको विशेष निर्देशन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको सहयोग, मुख्यसचिवको पहल तथा नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्व र फ्लाई दुबईको नेपाल प्रतिनिधि युनिभर्सल टुर्स एण्ड ट्राभल प्रालिको समन्वयमा सम्भव भएको उहाँले बताउनुभयो ।

यस्तै जजिरा एयरले पनि कात्तिक १२ गतेदेखि पुनःउडान सञ्चालन गर्दैछ । यसअघि १० महिना उडान गरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनःसोही विमानस्थलमा उडान सुरु गर्न लागेको जनाइएको छ । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।

जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने गरी अनुमति पाएको विमानस्थलले जनाएको छ । दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । प्राविधिक कारण देखाउँदै १० महिनापछि उडान स्थगित गरिएको थियो ।

त्यसैगरी, थाई एयर एसियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको छ । उक्त एयरलाइन्सको प्राविधिक टोलीले हालै गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो ।

दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजनाअनुरूप गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले बताउनुभयो । “सरकारको कार्ययोजनाअनुरूप विशेष पहलकदमीमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण बनाउन लागिएको छ”, उहाँले भन्नुभयो,“अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको छ ।”

सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णक्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । सोही योजनाअनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान गर्न लागेका हुन् । रासस