• १२ कात्तिक २०८१, सोमबार

तीन सिफ्टमा काम हुन्छ : स्वास्थ्यमन्त्री

blog

प्रदीप पौडेल, मन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या

मन्त्री भएको एक महिनाभित्र अस्पतालको भिड हटाउने योजना के भयो ?

भिड हटाउने योजना अन्तर्गत सरकारी अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालनमा आएको छ । जसले गर्दा भिड हटेको छ । पहिले अस्पतालमा शल्यक्रियाका छ महिनादेखि एक वर्ष पालो कुर्नुपर्ने बाध्यता थियो । अहिले लामो समयसम्म पालो कुर्नु पर्दैन ।


दुई सिफ्टमा काम गर्नेहरूको सेवा सुविधामा ध्यान दिनुभएको छ ?

अब तीन सिफ्टमा काम गर्ने तयारी हुँदै छ । तीन सिफ्टमा काम गर्ने गरी व्यवस्था हुँदा अस्पतालमा काम गर्ने चिकित्सक, नर्स, पारामेडिक्स तथा कर्मचारीलाई थप सेवा सुविधा, भत्ता दिइने छ । तीन सिफ्टमा काम भएपछि सरकारी चिकित्सकले निजी अस्पतालमा गएर काम गर्नु पर्दैन । हाल भइरहेको उपचार सेवाभन्दा अझ प्रभावकारी हुने देखिन्छ । 


तीन सिफ्टमा काम गर्न सम्भव छ ?

स्वास्थ्यकर्मीको समस्या समाधान गर्न चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा. लोचन कार्कीको संयोजकत्वमा गठित समितिले तीन सिफ्टमा काम लगाएर थप भत्ता दिने प्रतिवेदन दिएको छ । उक्त प्रतिवेदनलाई मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने छ । 


नसर्ने रोगमा के काम गर्दै हुनुहुन्छ ?

देशमा नसर्ने रोग व्यापक मात्रामा फैलिरहेको छ । त्यसको नियन्त्रण गर्न उपचारसँगै जनचेतनामा वृद्धि गर्नु पर्छ । त्यसैले ‘निरोगी नेपाल ः आगामी पुस्ता निरोगी पुस्ता’ कार्यक्रम अघि सारिएको छ । रोग लाग्नै नदिन जनचेतना जगाउने, सुरुमै रोगको स्व्रिmनिङ गर्ने योजना छ । पाठेघरको मुखको क्यान्सरको नियन्त्रणका लागि काम अघि बढेको छ । यसबाहेक मुटु, मिर्गौला र क्याक्सर उपचारलाई देशभरि विस्तार गर्ने योजना छ । कतिपय प्रदेशमा ती सेवा सुरु गरिएको छ । 


चिकित्सक, नर्स विदेश पलायन भइरहेका छन्, चिकित्सा शिक्षामा के सुधार गर्न खोज्दै हुनुहुन्छ ? 

वास्तवमा स्वास्थ्यमा विदेश पलायन हुने जशक्तिलाई रोक्न नसके पनि नेपालमा कसरी टिकाउन सकिन्छ भन्नेतर्फ लाग्नु पर्छ । नेपालमा थप सेवा, सुविधा वृद्धि गर्न सकिन्छ । डा. लोचन कार्कीको संयोजकत्वमा बनेको स्वास्थ्यका समस्या समाधान समितिले स्वास्थ्यकर्मीको सेवा, सुविधाबारे प्रस्ट गरेको छ । हामी त्यसलाई कार्यान्वयन गर्नतर्फ लाग्छौँ । यस्तै तीन सय शय्याभन्दा माथिका अस्पतालमा एमडी, एमएसको पढाइ सञ्चालन गरेर चिकित्सकीय जनशक्ति थप गर्ने निर्णय भइसकेको छ । 


विपन्नलाई मात्र निःशुल्क जलन उपचार भनिएको छ, विपन्नको मापदण्ड के हो ?

हामीले जलन उपचारलाई निःशुल्क गराएका छौँ । विपन्नलाई निःशुल्क उपचार भनिए पनि हुनेखानेले पनि निःशुल्क उपचार पाउँछन् । अहिले क्यान्सरलगायतका उपचारमा हुनेहरूले सरकारले दिएको सेवा लिइनै रहेका छन् । आठ वटा रोगमा जुन सुविधा पाइरहेका छन्, त्यसमा जलन थप गरेर नवौँ थपिएको छ । अरू रोगमा निश्चित रकम मात्र दिने भन्ने हुन्छ । जलनका लागि पूर्ण उपचार हुन्छ । यति पैसा भनेर छुट्याइएको छैन । कस्मेटिकबाहेकका सम्पूर्ण उपचार निःशुल्क हुन्छ ।  

स्वास्थ्य बिमाको दायरा पाँच लाख पुर्‍ याउन सकिन्छ ?

अवस्य, मैले अध्ययन गरेरै पाँच लाख पुर्‍याउन सकिने घोषणा गरेको हुँ । बिस्तारै त्यसको कार्यान्वयन हुन्छ । त्यसका लागि स्वास्थ्य बिमालाई परिस्कृत बनाएर अघि बढाउनु पर्छ । स्वास्थ्य बिमालाई एक लाखबाट बढाएर पाँच लाखसम्म पुर्‍याउन स्रोत कसरी जुटाउन सकिन्छ भन्नेमा हामी लागेका छौँ । हामीले पाँच लाख पुर्‍याउनका लागि तथ्यपरक वस्तुगत विषय ल्याइसकेका छौँ । 


औषधीमा आत्मनिर्भर हुने के योजना छन् ?

नेपाललाई औषधीमा आत्मनिर्भर बनाउनतर्फ लाग्नु पर्छ । औषधीको सुपथ मूल्य कायम गर्ने भन्ने विषय प्राथमिकतामा रहेको छ । त्यसमा पनि एक समिति  बनाइएको छ । औषधी सुपथ मूल्यमा कसरी दिन सकिन्छ भन्नेमा हामी दृढ भएर लाग्ने छौँ । औषधीबाहेक उपकरणमा हामीले काम गरेका छौँ । स्वास्थ्य मन्त्रालय मातहत रहेका उपकरणका विषयमा पनि विशेष थालनी गरेका छौँ । ती उपकरण कस्तो अवस्थामा रहेका छन् त्यसको सम्पूर्ण जानकारीका लागि नारायणविक्रम थापाको संयोजकत्वमा समिति बनाइएको छ । त्यो समितिले प्रतिवेदन बुझाउने क्रममा छ ।